एक युवा जसले ४० हजार लगानीलाई डेढ बर्षमा यसरी बनाए १० लाख



गुल्मी । गुल्मीका एक युवाले जापान छोडेर आफ्नै गाउँमै व्यावसायिक केराखेती गरेर राम्रो आम्दानी गर्दै आउएका छन् ।

मुसिकोट नगरपालिका–१ भर्माचौर निवासी ४४ वर्षीय युवा चन्द्रमणि घिमिरेले व्यावसायिक केराखेतीसँगै मेवा, खुर्सानी र कुखुरापालन व्यवसायबाट झण्डै डेढ वर्षमा १० लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

घिमिरेले झण्डै ४ रोपनी आफ्नै खेतमा ४० हजारको लगानीबाट एक वर्षमा २ सय ८० बोट केरा लगाएर व्यवसाय शुरु गरेका हुन् । केराखेती वृद्धि हुँदै झण्डै ८०० केराका घरी उत्पादन भइरहेको हुँदा आउने वर्षमा केराबाट राम्रो आम्दानी हुने घिमिरे बताउँछन् ।

घिमिरे रोजगारीको सिलसिलामा विभिन्न देशमा नौ वर्ष दुःख पीडा भोग्दै पछिल्लो समयमा जापानमा ३ वर्ष बिताएर स्वदेश फर्केर हुन् ।
घिमिरे भन्छन् ‘युवा विदेश जाने सपना त्यागेर आफ्नै गाउँघरमा सानोतिनो पेसा व्यवसाय गरी आधुनिक कृषि गरेर पनि मनग्य आम्दानी गर्न सकिने हुँदा र थोरै भएपनि आम्दानी आफ्नै ठाउँमा गर्न सकिन्छ ।’
आफूलेजस्तै अन्य युवालाई आफ्नो सिको गरेर विदेश जानुभन्दा आफ्नै जन्मभूमिमा केही गरेर आत्मनिर्भर भएर बाँच्न सकिने उनको सुझाव छ ।

घिमिरेले निरन्तररुपमा मेहनत र परिश्रम गरेरै आफ्नै गाउँघरमा केही गर्ने हो भने स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण प्रस्तुत गरेका छन् ।

व्यवसायबाट आफू सन्तुष्ट भएको भन्दै जापानको कमाइ गाउँमै गर्दै आएका घिमिरे आफ्नो केरा व्यवसायलाई अझ वृद्धि गर्दै लैजाने र गाउँलाई नै केरामय बनाउने सोचमा छन् ।

घिमिरेले हाल ३ स्थानीय जात अन्तर्गत फुसे्र, झोप्रे, मुहुरे र तीन उन्नत जातअन्तर्गत चिनी केरा, झापाली माल्भोग र मनिपुरे माल्भोग जात गरी छ जातका व्यावसायिक केराखेती गरिरहेका छन् ।

आफूले उत्पादन गरेका केरा, खुर्सानी, मेवा र कुखुरा आदिको राम्रो व्यापारले गर्दा बजारमा मागअनुसार उत्पादित वस्तु आफूले बजारमा पुर्याउन नसकेको घिमिरेले बताए । रासस


क्लिकमान्डु