इस्टर्न सुगर मिलले १८ करोड भुक्तानी नदिँदा उखु किसान आन्दोलनमा



पथरी । मोरङ र सुनसरीका ५ हजार उखु कृषकले उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा बेचेको उखुको रकम भुक्तानी नहुँदा जीविकोपार्जन गर्न समस्या भएको मोरङको कदमाहाका उखु किसान सन्तोष यादवले बताए ।

सुनसरीको बर्जु गाउँपालिका-५ मा अवस्थित इस्टर्न सुगर मिलले आव २०७३/०७४ को कृषकले बेचेको करोडौँको उखुको भुक्तानी नदिएपछि उनीहरु आर्थिकरुपमा सास्ती व्यहोर्न बाध्य भएको किसानको गुनासो छ ।

सुनसरी, मोरङबाट ८ लाख २८ हजार ६ सय ४१ क्विन्टल उखु खरिद गरेको सुगर मिलले ४१ करोड रुपैयाँ दिनुपर्नेमा २३ करोड उपलब्ध गराएको र बाँकी १८ करोड रुपैयाँ नदिएपछि कृषक थप मर्कामा परेका हुन् ।

दशैँ र तिहारसम्ममा सबै पूँजी चुक्ता गर्ने भनेर सम्झौता भए पनि अहिलेसम्म मिलले कृषकको उखुको मूल्य नदिएकाले आन्दोलित हुनुपरेको उखु कृषक संघर्ष समितिका सचिव कमलप्रसाद कामतको भनाइ छ ।

गत वर्ष सुनसरी, मोरङका १० हजार उखु कृषकले उखुखेती गरेका थिए । यो वर्ष सुनसरी, मोरङका ७ हजार कृषकले ७ हजार बिगाहमा उखुखेती गरेका छन् । इस्टर्न सुगर मिलले समयमा भुक्तानी नदिएपछि उखुखेतीबाट कृषक पलायन हुँदै गएको कामतले बताए ।

सुनसरीको बर्जु गाउँपालिकामा १८ बिगाहमा उखुखेती गर्दै आएका रमेश कामत मिलले समयमा भुक्तानी नगर्दा जीविकोपार्जन गर्न समस्या भएको बताउँछन् ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले कृषकको मर्काको विषयमा गम्भीर रहेको भन्दै छिटोभन्दा छिटो समस्या समाधानमा पहल गर्ने बताए । रासस


क्लिकमान्डु