सवारी बिक्रीमा तीब्र प्रतिस्पर्धा, कुन समूहले कुन ब्रान्ड बिक्री गर्छन् ?




काठमाडौं । मुलुकमा सवारीसाधनको माग बढ्दै गएसँगै विश्वप्रसिद्ध ब्रान्ड भित्राउने क्रम जारी रहँदा डिलरसिप फेरबदलको क्रम पनि वृद्धि हुँदै गएको छ ।

दुगड समूहले बिक्री गर्दै आएको जापानी मोटर निसान हालैमात्र सारडा समूहले लियो भने पिउजो गोल्छा समूहले लिएको छ । मुलुकका ठूलामध्येका अधिकांश व्यावसायिक घराना यतिबेला कुनै न कुनै ब्रान्डका सवारीसाधनको आधिकारिक विक्रेता रहेका छन् भने केही ब्राण्ड परिवर्तनको प्रयासमा छन् ।

उत्पादनमूलक उद्योग फस्टाउन नसक्दा अटोमोबाइल व्यवसाय तुलनात्मक रुपमा सुरक्षित र दिगो आम्दानीको स्रोत हुने भएकाले व्यावसायिक घरानाहरु यसतर्फ आकर्षित भएका हुन् ।

एकपटक लगानी गरेपनि सवारीको आयु रहुञ्जेलसम्म स्पेयर पाटर््सलगायत सेवाको व्यवसाय जारी नै रहने भएकाले यसलाई दिगो व्यवसाय मानिएको हो । सवारी बिक्रीमा राम्रै नाफा हुने र त्यसपछि पनि निरन्तर आन्दानी हुने भएकाले नयाँ व्यासायीक घनाराहरु पनि सवारी विक्रीमा आकर्षित भएको उनको भनाइ छ ।

आम्दानी बढेसँगै निजी सवारी प्रयोगकर्ता वढेका छन् भने सार्वजनिक सवारीको विश्वसनियता नहुँदा पनि यस क्षेत्र अगाडि बढेको हो । नेपालमा जुनसुकै सवारी ब्रान्ड विक्री गर्नु घरानियाहरुबीच प्रतिष्ठाको विषयसमेत बन्दै गएको छ ।

मुलुककै ठूलो मानिएको व्यावसायिक घराना चौधरी समूहले जापानी कम्पनी सुजुकीको भारतीय उत्पादन विक्री गर्दै आएको छ । सुजुकीका ह्याच ब्याक, सेडान तथा एसयूभी सवारी नेपाली बजारमा विक्री हुँदै आएको छ । चौधरी समूहको भगिनी संस्था सीजी मोटोकर्प सुजुकीको आधिकारीक विक्रेता पनि हो ।

नेपालको पुरानो औद्योगिक घराना ज्योती समूहले नेपालमा हिरो र होन्डा मोटरसाइकल तथा होन्डा कारको आधिकारीक विक्रेता हो । जापानी कार निर्माता कम्पनी होन्डाका लक्जरी कार ज्योति समूह अन्तर्गतको स्याकार कम्पनीले नेपालमा विक्री गर्दै आएको छ । हिरो भने ज्योती समूहअन्तर्गतकै अर्को कम्पनी नेपाल जेनरल मार्केटिङले विक्री गर्दै आएको छ ।

गोल्छा अर्गनाइजेसन नेपालको पुरानो प्रतिष्ठित घराना पनि हो । यसअन्तर्गतका हंसराज हुलासचन्द एन्ड कम्पनीले भारतीय मोटरसाइकल कम्पनी बजाज र केटीएम कम्पनीका मोटरसाइक विक्री गर्दै आएको छ भने जीओफोर्डले फोर्ड कम्पनीका गाडी विक्री गर्दै आएको छ ।

त्यस्तै डाइहात्सु कम्पनीका गाडी गोल्छा अर्गनाइजेशन अन्तर्गतकै कम्पनी नेपालको आधिकारीक विक्रेताको रूपमा रहेको छ । त्यस्तै सोही समूह अन्तर्गतको सांग्रिला मोटर्सले यही साउनदेखि पिउजो ब्रान्ड बेच्न थालेको हो ।

पोखराबाट उदाएको लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले दक्षिण कोरीयाली कार निर्माता कम्पनी हुन्डाईको गाडी विक्री गर्दै आएको छ । हुन्डाईका इन्ट्रिलेभल कारदेखि विलासी गाडी नेपाली बजारमा निकै लोकप्रिय छन् ।

यस्तै, सिप्रदी ट्रेडिङले भारतीय गाडी निमार्ता कम्पनी टाटाका सवारी नेपालमा विक्री गर्दै आएको छ । ३० वर्ष अघि स्थापना भएको सिप्रदी टाटा माटर्सको आकिधारीक विक्रेता हो । सिप्रदीले टाटाका हेवी इक्युपमेन्टदेखि साना सवारीसम्म विक्री गर्दै आएको छ ।

दुगड ब्रदर्स एन्ड सन्स दुगड समूह अन्तर्गतको सवारी विक्रेता कम्पनी हो । बेलायती ब्रान्डको रोयल इनफिल्ड मोटरसाइकलको आधिकारी विक्रेता हो दुगड ब्रदर्स एन्ड सन्स । त्यस्तै यो कम्पनीले भारतीय गाडी निर्माता महेन्द्राको कमर्सियल भेइकल समेत विक्री गर्दै आएको छ ।

वैद्यज् अर्गनाइजेशन अन्तर्गतको युनाइटेड ट्रेडर्स सिन्डिकेटले जापानको प्रतिष्ठित कार निर्माता कम्पनी टोयोटाको गाडी विक्री गर्दै आएको छ ।

आईएमई समूह अटोमोबाइलमा नयाँ भए पनि स्थापित भइसकेको छ । समूहअन्तर्गतको आईएमई अटोमोटिभस्ले अमेरिकी मोटरसाइकल युएम, आशोक लेल्यान्ड र एस्कर्टको हेवी इक्युपमेन्ट विक्री गर्दै आएको छ ।

विशाल समूहअन्तर्गत रहेको पुजा इन्टरनेसनलले जर्मनी गाडी फक्सवागन विक्री गर्दै आएको छ । त्यस्तै यही समूहमै रहेको भीजी सुजुकीे सुजुकी मोटरसाइकल, कोबेल्कोको हेवी इक्युपमेन्टको समेत आधिकारीक विक्रेता रहेको छ । शोही समूहको एड्भान्स अटोमोवाईले रेनोको लागी नेपालको आधिकारीक बिक्रेताको रुपमा काम गरिरहेको छ ।

यता, एमएडब्लू इन्टरप्राइजेज जापानी मोटरसाइकल कम्पनी यामाहा, जर्मनी कार स्कोडा, इटालीयन कार फियाट तथा हेवी इक्युपमेन्ट कम्पनी जेसीबी इन्डियाको आधिकारीक विक्रेता हो ।

शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्सले केही समययता टिभीएस मोटरसाइकल विक्री गर्न सुरु गरेको हो । यो मोटरसाइकल विगतमा चौधरी समूहले विक्री गथ्र्यो ।

सारडा समूह पनि नेपाली अटो व्यवसायमा नयाँ कम्पनी हो । यो समूह अन्तर्गतको कम्पनीले डट्सनका सवारी र गत साउनदेखि जापानी कम्पनी निसानका सवारीको समेत आधिकारिक बिक्रेता नियुक्त भएको हो ।

कन्टिनेन्टलले कोरीयाली कार निर्माता कम्पनी कियाको कार नेपालमा विक्री गर्दै आएको छ । त्यस्तै यो कम्पनी जापानी हेवी इक्युपमेन्ट कोमात्सुको समेत आधिकारीक विक्रेताको रूपमा रहेको छ ।

बतास अर्गनाइजेशनले भारतीय कमर्सियल भेइकल निर्माता कम्पनी आइसरका कमर्सियल सवारी र क्याटरपिलरका हेवी इक्युपोन्ट बिक्री गर्दै आएको छ ।

अग्नि इनकर्पोरेटले भारतीय सवारी उत्पादक महेन्द्राका प्यासेन्जर सवारी र मोटरसाइकल नेपाली बजारमा विक्री गर्दे आएको छ । त्यस्तै कम्पनीले विद्युतीय सवारी समेत विक्री गर्ने गरेको छ ।


क्लिकमान्डु