भाइमसला किन्न जान लाग्नु भएको हो ? यस्तो छ बजार मूल्य !




काठमाडौं । तिहारको भाइटिकाको दिन चाहिने भाइमसला तिहार सुरु हुनु भन्दा १० दिन अघि नै विक्री वितरणको लागि ठाउँ ठाउँमा राखिएको थियो ।

विभिन्न २१ वटा सामाग्रीहरु मिसाएर बनाइने भाइमसलालाई विभिन्न आकर्षक तरिकाले प्याक गरि तयार पारी बिक्रीका लागि राखिएको छ ।

भाइमसलामा काजु, बदाम, मिश्री, पेष्ता, किसमिस, छोकडा, नरिवल, ओखर, खुर्पानी अंजिर, मखना, सुपाडी, ल्वाङ, सुकुमेल, अदैंची, दालचीनी गरि १६ सामाग्री अनिवार्य राख्ने गरिन्छ ।

यी सामानहरु बाहेक चकलेट, काचो बदाम, ओखरको गुदी र किटक्याट जस्ता थुप्रै प्रकारका मिठाइहरु मिसाइएको हुन्छ ।

असनको महाबौद्धमा रहेको आयुस कस्मेटिक पसलका व्यापारी हरि प्रसाद जोशीले तिहार सुरु हुनुभन्दा १० दिन अघिदेखि नै भाइमसलाका प्याकेटहरु राख्न थालेका थिए । अघिल्लो वर्ष ५ सय पिस भाइ मसला विक्री गरेका जोशी यो वर्ष ६ सय पिस भाइमसला विक्री गर्न तात्तिकएका छन् ।

उनको पसलमा ४ प्रकारको भाइमसलाहरु रहेको छ । पहिलोमा ३ सय ७५, दोस्रो ४ सय ५०, तेस्रो ५ सय ५० र चौँथो ६ सय ५० रुपैयाँ पर्ने भाइमसलाहरु रहेको छ ।

महाँबौद्धमा नै पसल गरी बसेका भाग्य नारायणको पसलमा ६० रुपैयाँदेखि ५ सय रुपैयाँसम्मको भाइमसलाहरु रहेको छ । खासै व्यापार नहुने गरेको बताउने उनी तिहारमा ८० देखि ९० हजार जति फाइदा हुने आशामा भेटिए । असनमा रहेको एउटा होलसेल पसलमा भने ३५ रुपैयाँदेखि ९ सय रुपैयाँसम्मको भाइ मसलाहरु रहेको छ । नाम बताउन नचाहेका उनले तिहारको बेला दिनमा १० देखि १५ लाख रुपैयाँसम्मको सामान व्यापार हुने बताए ।

असनमा व्यापार गरी बसेका राजु श्रेष्ठको पसलमा ५० रुपैयाँदेखि ४ सय रुपैयाँसम्मको भाइमसला रहेको छ । उनी भने आफ्नो पसलमा पहिलेको भन्दा व्यापार घटेको बताउछन् । पसलहरु धेरै भएकोले सामान बेच्न प्रतिस्पर्धा हुने गरेको उनको भनाइ छ ।

यो वर्ष असनमा काजुको मूल्यले आकाश नै चुमेको छ । अघिल्लो वर्ष १ हजार १ सय रुपैयाँ प्रतिकेजीमा व्यापार हुने गरेको काजु यो वर्ष १ हजार ७ सय रुपैयाँ प्रतिकेजी पुगेको छ । ओखर राम्रो गुणश्तरको प्रतिकेजी ९ सय ५० रुपैयाँमा विक्री भइरहेको छ ।

सबैभन्दा थोरै गुणस्तरको ओखर भने प्रतिकेजी ५ सय २५ रुपैयाँमा विक्री भैरहेको छ । बदामको मूल्य भने प्रतिकेजी १ हजार २ सय ५० रुपैयाँ पुगेको असनमा २५ वर्षदेखि व्यापार गर्दौ आएकी राधा श्रेष्ठले बताइन् । अरुबेलामा सामान्य ५० हजार रुपैयाँसम्म व्यापार हुने बताउने उनी तिहारको बेलामा २ देखि ३ लाखसम्मको व्यापार हुने बताउछिन् ।

यस्तै असनमा रहेको सत्य रत्न तुलाधार किराना स्टोरमा ओखरको मूल्य ७ सय रुपैयाँ प्रतिकेजी रहेको छ । काजु प्रतिकेजी १ हजार ८ सय रुपैयाँ रहेको छ । बदाम प्रति केजी १ हजार ३ सय रहेको छ । मखना प्रतिकेजी ५ सय र पेस्ता प्रतिकेजी १ हजार ५ सय रुपैयाँ रहेको छ बिक्रेता सन्जय तुलाधारले बताए ।

उता असनमै रहेको राजु तुलाधारको पसलमा काजु १ हजार ६ सय ८० रुपैयाँ प्रतिकेजी रहेको छ । नयाँ ओखर प्रतिकेजी ७ सय रुपैयाँ रहेको छ भने पुरानो ओखर प्रति केजी ६ सय रुपैयाँमा विक्री भैरहेको छ । बदाम प्रतिकेजी १ हजार ३ सय रुपैयाँ रहेको छ ।

नखिल प्रतिकेजी ४ सय ५० रुपैयाँ रहेको छ । पेस्ता प्रतिकेजी १ हजार ५ सय रुपैयाँ रहेको छ । किसमिस प्रतिकेजी ५ सय रुपैया रहेको छ । मिश्री प्रतिकेजी १ सय ८० रुपैयाँमा विक्री भैरहेको बिक्रेता राजु तुलाधारले बताए । सो पसलमा ६० रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्मको भाइमसला राखिएको छ ।


क्लिकमान्डु