माओबादी मन्त्रीले तलब पाउने, काम गर्न नपाउने




काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओबादी केन्द्रका सबै मन्त्रीहरुलाई जिम्मेवारी मुक्त गरेका छन् । राजीनामा दिएर हट्ने भन्दै पत्रकार सम्मेलनको निम्ता समेत पठाइसकेका माओबादी केन्द्रका मन्त्रीहरु अन्तिम समयमा पदबाट नहटेपछि प्रधानमन्त्री देउवाले माओबादीबाट मन्त्री बनेकाहरुलाई जिम्मेवारी मुक्त गर्दे बिनाविभागीय बनाएका हुन् ।

माओबादी मन्त्रीहरुले राजीनामा नदिए जिम्मेवारी मुक्त गरेर बिनाविभागीय बनाउने तयारी प्रधानमन्त्री देउवाले गरेका थिए । प्रधानमन्त्रीको यस्तो तयारी जानकारी पाएपछि माओबादी केन्द्रबाट मन्त्री बनेका ब्यक्तिहरु राजिनामा दिएर वाहिरिने तयारीमा थिए ।

नेपाली काँग्रेससँग सत्ता साझेदारमा रहेको माओबादी प्रदेश र केन्द्रको आगामी निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमालेसँगको चुनाबी तालमेलमा छ । यही कारण प्रधानमन्त्री देउवा र माओबादी केन्द्रबाट माओबादी बनेका मन्त्रीहरुबीच दुरी बढेको हो ।

प्रधानमन्त्रीले जिम्मेवारी मुक्त गरेपछि माओबादीको तर्फबाट सत्ताको नेतृत्व गरेका उपप्रधान तथा परराष्ट मन्त्री कृष्णबहादुर महरा विनाविभागीय उपप्रधानमन्त्री बनेका छन् । माओबादी मन्त्रीहरुको जिम्मेवारीमा रहेका केही मन्त्रालयहरु प्रधानमन्त्रीले आफै राखेका छन् भने केही मन्त्रालयहरु राप्रपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई दिइएको छ ।

 


क्लिकमान्डु