जनजातिको समर्थन पनि भट्टलाई नै, देवमानले नमान्दा जमुनाको उम्मेदवारी रोकिएन




काठमाण्डौं । गैरआवाशीय नेपाली संघ (एनआरएनए) निर्वाचनमा जनजातिले अध्यक्ष पदका प्रत्यासी भवन भट्टलाई सघाउने भएका छन् । जनजातिबाट जमुना गुरुङले उम्मेदवारी दिएको भएपनि एनआरएनमा बाहुल्यता रहेका जनजातिले भट्टलाई समर्थन गर्ने बताएका हुन् ।

गैरआवाशीय नेपाली जनजातीले सोमवार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी वहन गरिसकेका भट्टलाई समर्थन गर्ने जनाएका हुन् । यो निर्णयसँगै एनआरएनको नयाँ नेतृत्व चयन प्रकृयाले नयाँ मोड लिएको छ ।

टीबीआई समूहका अध्यक्ष भट्ट यसअघि संघमा दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल कोषाध्यक्ष निर्वाचित भएर आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन् ।

कार्यक्रममा भट्टले वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमाका लागि एनआरएन वैदेशिक रोजगार आपतकालीन कोषको रकम परिचालन गर्न सकिने जनाए । यस्तै, महिला फोरमलाई सशक्त बनाउने एवं नयाँ लगानीकर्ताका लागि स्टार्टअप फन्डको व्यवस्था गर्ने योजना उनले अघि सारेका छन् । हाल एनआरएनए वैदेशिक रोजगार कोषमा करिब २ करोड ५० लाख रूपैयाँ रहेको छ ।

भट्टले वर्तमान नेतृत्वले अघि बढाएका लाप्राक नमूना बस्ती, एनआरएनए भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड तथा सामूहिक लगानीलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाए । एनआरएनएलाई सबैको साझा र पवित्र मन्दिरको रूपमा अगाडि बढाउने प्रतिवद्धता जनाएका भट्टले नेपालीका लागि नेपाली भन्ने मूल मन्त्रका साथ विगत १४ वर्षदेखि समृद्ध नेपालको सपना साकार पार्न आफू लागिपरेकाले एनआरएनएको नेतृत्वका लागि आफ्नो दावी अत्यन्त स्वभाविक रहेको बताए ।

भट्टले आफ्ना एजेण्डाहरू पछि सार्वजनिक गर्ने भन्दै प्रारम्भिक अवधारणा मात्र सार्वजनिक गरेका छन् । कार्यक्रममा उनले हरेक राष्ट्रिय समन्वय परिषद (एनसीसी) मार्फत एक विशेष परियोजनाको परिकल्पना गरिएको उल्लेख गर्दै सामाजिक उद्यमशीलतालाई प्रवद्र्धन गरी महिला तथा युवाको सहभागिता बढाउने योजना पनि सार्वजनिक गरेका छन् ।

अध्यक्षका प्रत्यासी मानिएका कुमार पन्तले एक कार्यकाल उपाध्यक्ष नै रहेर भट्टलाई सहयोग गर्ने बताएपछि भट्ट करिब सर्बसम्मत उम्मेदवार बनेका थिए । तर अन्तिम समयमा वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती जमुना गुरुङले पनि उम्मेदवारी दिएपछि अब भट्ट र गुरुङबीच चुनाबी प्रतिस्पर्धा हुने भएको छ ।

यसैबीच आइतबार पनि जमुनाको उम्मेदवारी रोकेर भट्टलाई सर्बसम्मत उम्मेदवार बनाउने प्रयास भने भएको थियो । यसको लागि जमुनालाई उपाध्यक्ष बनाउने प्रस्ताव भट्ट पक्षले राखेको थियो । तर, पूर्वअध्यक्ष देबमान हिराचनले जमुनालाई जसरी पनि उम्मेदवार बनाउने भनेपछि यो प्रयासले सार्थकता नपाएको बताइएको छ ।

जमुना समुहले एनआरएनएले गोर्खाको लाप्राकमा बनाएको नमुना बस्ती र एनआरएनए हेडक्वाटर बनाउने जिम्मा आफूहरुलाई दिनुपर्ने माग राखेको थियो । जनजातिको बलमा उम्मेदवार बनेकी जमुनालाई बहुसंख्यक जनजातिले नै समर्थन नगर्ने भएपछि भट्ट बलियो देखिएका बताइएको छ ।

एनआरएनएको आगामी कार्यकालको नेतृत्वको लागि सोमबार दिउसो १ बजेदेखि मतदान हुँदैछ । इलेकट्रोनिक मतदान हुने सो निर्वाचन प्रक्रियामा साढे १८ सयभन्दा बढी मतदाताले मतदान गर्ने बताइएको छ ।


क्लिकमान्डु