एनआरएनए चुनावमा जमुना गुरुङको किन आयो उम्मेदवारी ?




काठमाडौं । गैरआवाशीय नेपाली संघ (एनआरएनए) मा दुई प्यानलबीच चुनाबी प्रतिस्पर्धा हुने भएको छ । आगामी शनिवारदेखि काठमाडौंमा सुरु हुने संघको ८औं बिश्व सम्मेलनमा भबन भट्ट र जमुना गुरुङको समुह चुनाबी प्रतिस्पर्धामा उत्रने भएका छन् ।

अध्यक्ष पदका प्रत्यासी भट्ट अहिलेका उपाध्यक्ष हुन भने अर्का प्रत्यासी गुरुङ अहिलेका अध्यक्ष शेष घलेकी श्रीमती हुन् । घले २ कार्यकाल एनआरएनएको अध्यक्ष भइसकेका छन् । एनआरएनएको बिधान अनुसार एउटै ब्यक्ति २ कार्यकालभन्दा बढी अध्यक्ष बन्न पाइदैन ।

भट्टले १ महिनाभन्दा अगाडि नै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका थिए । गुरुङले भने बिहिबार (आज) पत्रकार सम्मेलन गरेर अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

यसअघि नै गुरुङको पनि उम्मेदवारी आउने बताइएपनि उनले उम्मेदवारी घोषणा गरेकी थिइनन् ।

गुरुङको उम्मेदवारीलाई लिएर कसैले अन्तिम समयमा घोषणा गरिएको बताएका छन् भने कसैले उनी आन्तरिक गृहकार्यमा रहेको र आफूले प्राप्त गर्ने भोट ८ सय कटेपछि मात्रै घोषणा गरिएको बताएका छन् ।

संघमा अहिले २५ सयभन्दा बढी मतदाता छन् । विभिन्न देशमा रहेका सबै मतदाता सम्मेलनमा आउन नसक्ने कारणले करिब १६ सय मत खस्ने अनुमान गरिएको छ । यही अनुमानका आधारमा गुरुङले आफूलाई ८ सयभन्दा बढी मत प्राप्त हुने आधार देखेपछि उम्मेदवारी घोषणा गरिएको बताउनेहरु पनि छन् ।

यस्तै अर्का एनआरएन टिबी कार्कीले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । तर, कार्की कमजोर भएको कारण भट्ट र गुरुङबीच नै चुनाबी प्रतिस्पर्धा हुने आकलन एनआरएनले गरेका छन् ।

केही एनआरएनले भने आगामी कार्यकालको लागि महासचिब पदमा कुरा नमिलेपछि गुरुङको उम्मेदवारी आएको विश्लेषण गरेका छन् । अहिलेका अध्यक्ष घलेको कार्यशैलीप्रति कडा प्रतिवाद गरिरहेका वर्तमान महासचिब बद्री केसीलाई घले समुहले स्वीकार नगर्ने र भट्ट समुहलाई समर्थन गरिरहेका पूर्वअध्यक्षहरु डा. उपेन्द्र महतो र जीबा लामिछानेले घले समुहले अगाडि सारेका महासचिब पदका प्रत्यासी त्रिलोक गुरुङलाई स्वीकार नगर्ने अबस्था आएपछि अध्यक्ष पदमा गुरुङको उम्मेदवारी आएको बताइएको छ ।

‘अहिले भबन भट्ट वा यसपछि कुमार पन्तलाई अध्यक्ष बनाउने बिषयमा कसैको पनि असहमति होइन, त्यसपछिको अध्यक्ष त्रिलोक गुरुङ वा बद्री केसी कसलाई बनाउने भन्ने द्धन्द्धले जमुनाजीको उम्मेदवारी आएको हो,’ एक एनआरएन नेताले क्लिकमाण्डूसँग भने ।

उनका अनुसार त्रिलोक गुरुङलाई घले समुह जसरी पनि यसपछिको तेस्रो अध्यक्ष बनाउन चाहन्छ । तर, पूर्वअध्यक्षहरु डा. महतो र लामिछाने केसीलाई अध्यक्ष बनाउन चाहन्छ । यी दुई समुहको द्धन्द्धको परिणाम स्वरुप अध्यक्ष पदमा जुमना गुरुङको उम्मेदवारी आएको चर्चा एनआरएनबीच चलेको छ ।

अध्यक्ष पदमा गुरुङले पनि उम्मेदवारी घोषणा गरेपछि दुई प्यानलबीच चुनाबी प्रतिस्पर्धा हुने बताइएको छ । भट्टको प्यानलबाट उपाध्यक्षमा कुमार पन्त र महिला उपाध्यक्षमा सपिला राजभण्डारी तय भएको छ । गुरुङ समुहबाट उपाध्यक्ष पदमा सोनाम लामा र खगेन्द्र सिजी परेका छन् । भट्ट समुहले पनि सोनाम लामालाई आफ्नो उपाध्यक्ष बनाएकोमा जमुना घलेको उम्मेदवारी घोषणापछि के हुने भन्ने अझै तय भएको छैन । गुरुङ समुहले महिला उपाध्यक्ष पदमा रन्जु वाग्लेलाई अगाडि सारेको छ ।

यस्तै महासचिब पदमा भट्ट समुहबाट बद्री केसी र गुरुङ समुहबाट त्रिलोक गुरुङ उम्मेदवार बनेका छन् ।

गुरुङ समुहलाई संघका बर्तमान संरक्षक इन्द्रा बन र पूर्वअध्यक्ष देबमान हिराचनले समर्थन गरेका छन् ।


क्लिकमान्डु