एनआरएनएले पत्रकारलाई दिएको पुरस्कार बिबादमा



काठमाडौं । गैरआवाशीय नेपाली संघ (एनआरएनए) ले पत्रकारलाई दिने पुरस्कारमा बिबाद भएको छ । पुरस्कार स्थापनामा प्रमुख भूमिका खेलेको एनआरएनए बेलायतले प्रक्रिया पूरा नगरी पुरस्कार दिएको भन्दै सो पुरस्कार स्थगित गर्नसमेत माग गरेको छ ।

एनआरएनए युके र नेपाल पत्रकार महासंघ युके शाखाद्वारा संयुक्त रुपमा स्थापित ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ पत्रकारद्वय होम कार्की (नेपाल) र नविन पोखरेल (बेलायत) लाई दिइने निर्णय भएको थियो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य संयोजक तथा पत्रकारद्वय बबिता बस्नेत र भगिरथ योगी सदस्य रहेको छनौट समितिले पत्रकार कार्की र पोखरेललाई संयुक्तरुपमा सो पुरस्कारका लागि छनौट गरेको थियो ।

प्रवासी नेपालीका बारेमा निरन्तर समाचार सम्प्रेषण गर्ने एकजना नेपालभित्र र एक जना प्रवासका पत्रकारलाई हरेक दुई वर्षमा हुने एनआरएन विश्व सम्मेलनका अवसरमा सो पुरस्कार प्रदान गर्ने गरिएको थियो । पुरस्कारको राशी १ लाख १ हजार रुपियाँ रहेको छ । यही अक्टोबर १४–१७ तारिखमा काठमाडौँमा हुने एनआरएनको आठौँ विश्व सम्मेलनमा सो पुरस्कार प्रदान गरिने भनिएको थियो ।

तर, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी र महासचिब राजकुमार त्रिपाठीले एक विज्ञप्ति जारी गर्दै विधि र प्रक्रिया मिचेर पुरस्कृत छनोट गरिएको भन्दै स्थगित गर्न माग गरिएको छ ।


क्लिकमान्डु