सरकारी बजार अनुगमन, कहाँ के भेटियो ?



काठमाडौं । गुणस्तर, मूल्य, तौललगायतमा उपभोक्ता नठगिउन भनेर सरकारले गरिरहेको अनुगमनक्रममा बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनमा नै समस्या भेटिएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले बजार अनुगमनलाई तिब्र बनाएसँगै बहुराष्ट्रिय कम्पनी कोकाकोला नेपालका म्याद नाघेका उत्पादनहरु समेत बिक्री बितरण गरिरहेको भेटिएको हो ।

भक्तपुरको कौशलटारमा क्षेत्रमा गरेको अनुगमनका क्रममा कोकाकोला नेपालको म्याद नाघेको फ्यान्टा ५०० एम.एल. को ७ बोतल, कोक ६०० एम.एल. को ७ बोतल, १ लि. को ३ बोतल र स्प्राइट १ लि. को ५ बोतल भेटिएको हो । म्याद नाघेका कोकाकोलाका उत्पादनहरु अन्जली जुस सेन्टरबाट अनुगमन टोलीले फेला पारेर नष्ट गरेको विभागले जानकारी दिएको छ ।

अनुगमन टोलीले अन्य बहुराष्ट्रिय कम्पनीका म्याद नाघेका उत्पादनहरु पनि बिक्री बितरण गरिरहेको अवस्थामा फेला पारेको छ । टोलीले टाइगर ब्राण्डको विस्कुट ७० ग्रामको १० प्याकेट, ब्रुम विस्कुट ४६ ग्रामको ६९ प्याकेट म्याद गुज्रीएर पनि बिक्री गरिरहेको अवस्थामा फेला पारेको हो ।

विभागले बबरमहल क्षेत्रमा गरेको अनुगमनका क्रममा ईन्दिरा अघिकारीको पसलबाट म्याद नाघेको मारी गोल्ड विस्कुट ३०० ग्रामको ४ प्याकेट, गुड लाइफ विस्कुट २६५ ग्रामको ३ प्याकेट, गुड डे विस्कुट २०० ग्रामको २ प्याकेट, म्यारी २५० ग्रामको ३ प्याकेट, किचेन किङ्ग ५० ग्रामको १२ प्याकेट, कफ मसला ५० ग्रामको ६ प्याकेट, जोशी दालमोठ १५० ग्रामको ९ प्याकेट, शुद्ध तोरीको तेल ५०० एम.एल. को ४ प्याकेट फेला पारेर नष्ट गरिएको जानकारी दिएको छ ।

म्याद नाघेकै कारणले कोटेश्वरको शर्मीला श्रेष्ठको पसलबाट मारी गोल्ड विस्कुट ३०० ग्रामको ४ प्याकेट, गुड लाइफ विस्कुट २६५ ग्रामको ३ प्याकेट, गुड डे विस्कुट २०० ग्रामको २ प्याकेट, म्यारी २५० ग्रामको ३ प्याकेट, किचेन किङ्ग ५० ग्रामको १२ प्याकेट, कफ मसला ५० ग्रामको ६ प्याकेट, जोसि दालमोठ १५० ग्रामको ९ प्याकेट, शुद्ध तोरीको तेल ५०० एम.एल. को ४ प्याकेट नष्ट गरिएको छ ।

मिठाइमा पनि समस्या

चाडबाडको बेलामा अधिक खपत हुने मिठाई पसलमा पनि व्यवसायीहरुले गुणस्तरहीन सामाग्री तथा उत्पादनहरु बिक्री गरिरहेको अनुगमन टोलीले फेला पारेको छ । काठमाडौंका नाम चलेका मिठाई पसलहरुको अनुगमनमा सरसफाई कमजोर भएको र लेबल नभएका सामानहरु बिक्री गरिरहेको भेटेको हो ।

टोलीले आइतवार नै अनुगमन गरेको कोलकत्ता स्वीट्स, नयाँ बानेश्वर, विश्रान्ती मिठाई पसल, मैतिदेवी, राजधानी स्वीट्स, मैतिदेवी र मैतिदेवी स्वीट्स, मैतिदेवीमा गरेको अनुगमनका क्रममा सरसफाई नभएको र कामदारहरुले हातैले मिठाईका उत्पादनहरु चलाउने गरेको भेटिएको हो ।

विभागकाअनुसार मिठाई पसलहरुमा भेटिएको खान अयोग्य लालमोहन २.५ किलोग्राम नष्ट गरेको छ भने गुणस्तर मापनका लागि अल्फा जुस तथा लड्डुको नमुना संकलन गरेको छ ।

विभागबाट खटिएको टोलीले अघिकांश मिठाई पसलहरुमा सरसफाईमा विशेष ध्यान दिन तथा कामदारहरुलाई माक्स, पन्जा तथा एप्रोनको प्रयोग गर्न लगाउन, लेबल नभएको सामानहरु बिक्री बितरण नगर्नसमेत निर्देशन समेत दिएको जानकारी दिएको छ ।

विभागका निर्देशक लक्ष्मण श्रेष्ठले विभिन्न क्षेत्रमा छुट्टाछुट्टै अनुगमन टोली खटिएको जानकारी दिए ।


क्लिकमान्डु