तरकारीको मूल्य दोब्बरले बढ्दा उपभोक्ता मारमा, व्यापारीद्धारा आफूखुशी मूल्य निर्धारण



विराटनगर । चाडपर्वसँगै  विराटनगर बजारमा तरकारीको मूल्यमा दोब्बर वृद्धि भएको छ ।

विराटनगर बजारमा खपत हुने अधिकांश तरकारी मोरङको पूर्वी र दक्षिणी क्षेत्रका साथै सुनसरीको देवानगञ्जबाट आउने गर्दछ तर उक्त क्षेत्रमा भदौ महिनामा आएको बाढीले खेती डुबानमा परेपछि तरकारीको उत्पादनमा कमी भई यसको मूल्यमा वृद्धि भएको हो ।

कम उत्पादनका कारण उपभोक्ता दोब्बर मूल्यमा तरकारी किन्न बाध्य भएका छन् । एकातिर तरकारीखेती हुने क्षेत्र डुबानमा परेपछि उत्पादनमा कमी आएको र अर्कोतिर विराटनगरको सीमावर्ती क्षेत्र जोगबनीस्थित मीरगञ्जमा पुल भत्केकाले आयातमा आएको कमीका कारण तरकारीको मूल्य वृद्धि भएको तरकारी व्यापारी बताउँछन् ।

नेपालको पहाडी क्षेत्र र भारतबाट आयात गरेर व्यावसायीले विराटनगर बजारमा तरकारीको आपूर्ति गर्दै आएको छ । पहाडी जिल्लाबाट आयात गर्दा ढुवानी खर्च वृद्धि हुने र भारतबाट पनि तरकारी आयातमा आएको कमीले गर्दा मूल्यमा वृद्धि भएको तरकारी व्यवसायीहरु बताउँछन् ।

बाढी आउनुअघि प्रतिकिलो २५ रुपैयाँ पर्ने प्याज अहिले ५० रुपैयाँ छ भने ३० रुपैयाँ पर्ने आलु ६० रुपैयाँ पुगेको छ । यस्तै ४० रुपैयाँ प्रतिकिलो पर्ने गोलभेँडा ६० देखि ७० रुपैयाँ, ५० रुपैयाँ प्रतिकिलो पर्ने रामतोरिया अहिले ८० रुपैयाँ, प्रतिकिलो २५ रुपैयाँ पर्ने घिरौला ४० देखि ५० रुपैयाँ तथा ३० रुपैयाँ प्रतिकिलो पाइने काँक्राको मूल्य अहिले ६० रुपैयाँ पुगेको छ ।

यस्तै प्रतिकिलो २५ रुपैयाँ पर्ने प्याज अहिले ५० रुपैयाँमा पुगेको छ भने ७० रुपैयाँ पर्ने फूलकोभी अहिले १२५ रुपैयाँमा सर्वसाधाराणले खरिद गरिरहेका छन् ।

बजारमा तरकारीको मूल्य वृद्धिले आफूले अन्य सामानको बजेट घटाइ तरकारीमा खर्चगर्नु परिरहेको विराटनगर–९ का गृहिणी विद्या पाण्डेले बताए।

विराटनगर बजारमा दैनिक २५ देखि ३५ टन हरियो तरकारी बिक्री हुने गरेको तरकारी व्यवसायीहरु बताउँछन् ।

माग अनुसारको आपूर्ति हुन नसकेपछि व्यापारीले आफूखुशी तरकारीको मूल्य निर्धारण गर्ने गरेको र बजार अनुगमन प्रभावकारी नहुँदा पनि आम उपभोक्तालाई चर्को मूल्यमा तरकारी किन्नुपर्ने बाध्यता रहेको छ ।


क्लिकमान्डु