वैदेशिक रोजगारीबाट फर्केका अर्जुनको मेहनत, कुखुरा फार्मबाट मासिक डेढ लाख रुपैयाँ कमार्इ



फाइल

कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– १० का अर्जुन खत्रीले कुखुरा फार्मबाट मासिक एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

वैदेशिक रोजगारीबाट फर्केर उनले ३५ लाख रुपैयाँको लगानीमा कुखुरा फार्म सञ्चालन गरेका छन् ।

स्थानीय बासिन्दाको दुई बिगाहा १० कठ्ठा जग्गा भाडामा लिएर उनले सञ्चालन गरेको लेयर्स कुखुरा फार्ममा तीन हजार कुखुरा रहेका छन् । ती कुखुराले दैनिक २८ हजार आठ सय रुपैयाँ मूल्य बराबरका दुई हजार पाँच सय २० वटा अण्डा उत्पादन हुने गरेका छन् ।

दैनिक १२ पेटी अण्डा उत्पादन हुने गरेका छन् । एक पेटीमा २१० अण्डा रहने गर्छन् । एक पेटी अण्डा दुई हजार चार सय रुपैयाँमा बिक्री हुने गरेका छ।

‘मासिक सात लाख रुपैयाँ भन्दा  बढीको अण्डा बिक्री हुँदै आएको छ, कुखुराको औषधि, दाना र फार्म सञ्चालनका लागि बैंक तथा सहकारी संस्थाबाट लिएको ऋणको किस्ता, ब्याज र कामदारको तलबमा पाँच लाख ५० हजार रुपैयाँ खर्च हुन्छ,’ सञ्चालक खत्रीले भने ।

सबै खर्च कटाएर मासिक एक लाख ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी हुँदै आएको उनले दाबी गरे ।

फार्मबाट उत्पादित अण्डा झलारी, कलुवापुर, वनसमिति, गुलरिया, वाणी, दैजीलगायतका स्थानीय बजारमा बिक्री हुँदै आएको खत्रीले बताए।

वैदेशिक रोजगार सकेर कतारबाट फर्केपछि उनले कुखुरा फार्म सञ्चालन गरेका हुन । वैदेशिक रोजगारीमा छँदा पाएको दुःख सम्झेर घरमै बसेर केही गर्नुपर्छ भन्ने अठोट लिई कुखुरा फार्म सञ्चालन गरेको उनले स्पष्ट पारे ।

‘वैदेशिक रोजगारीमा छँदा मासिक ३० देखि ३५ हजार रुपैयाँ कमाउने गरेको थिए,’ खत्रीले भने, ‘कुखुरा फार्म सञ्चालन गरेपछि एक लाख ५० हजार रुपैयाँ स्वदेशमै परिवारसँगै बसेर कमाउँदै आएको छु ।’

निश्चय र अठोट लिई लगनशीलताका साथ कार्य गरे आम्दानी हात पार्न धेरै मिहेनत गर्नु नपर्ने उनको बुझाइ छ ।

‘वैदेशिक रोजगारीमा जानु नराम्रो नभए पनि स्वदेशमै उत्पादनशील कार्य गरे बढी आम्दानी लिन सकिन्छ,’ खत्रीले भने ।

कुखुरा फार्मसँगै उनले बाख्रापालनको कार्यलाई समेत अगाडि बढाएका छन् । हाल उनको फार्ममा स्थानीय जातका ३० वटा बाख्रारहेका छन् ।

स्थानीय बाख्रामा कृत्रिम प्रजनन गराई उन्नत नश्लका बाख्रा बिक्री गर्ने उनको योजना छ । उनले बाख्रापालनका लागि तीन लाख रुपैयाँ लगानी गरेका छन् ।

भाडमा लिएको त्यही जग्गामा उनले हरियो घाँस उत्पादन गर्ने कार्य समेत अगाडि बढाएका छन् ।


क्लिकमान्डु