म यी ७ काम गर्न उपाध्यक्षमा उम्मेदवारी दिदैँछुः कुल आचार्य



सर्वप्रथम यही अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौंमा हुन गइरहेको आठौं गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिन छानिनु भएका सबै महाधिवेशन प्रतिनिधिहरुलाई म हार्दिक बधाइ ज्ञापन गर्दछु । जहां बसे पनि जहाँ रहे पनि हाम्रो मन र मुटुमा नेपाल, केवल नेपाल मात्रै छ। हामी अहिले जहां छौं, जुन अवस्थामा छौं, त्यो त्यही माटो, हावा र पानीको योगदान हो ।

विदेशमा रहेता पनि मातृभूमिका लागि केही गरेर छाडछौं भन्ने अठोटका साथ स्थापित गैर आवासीय नेपाली अभियानमा गएको १२ वर्ष देखि सहभागी हुंदा मैले सिकेका कुराहरु संक्षेपमा यहाँ राख्न चाहन्छु ।

मैले सन् २००६ – ८ मा साधारण सदस्य, २००८ – ०९ मा एनआरएनए यूकेको कार्यसमितिको सदस्य, सन् २००९( ११ मा उपाध्यक्ष तथा कल्याणकारी समितिको संयोजक भएर काम गरें । त्यसपछि साथीहरुको स्नेह र सहयोगले २०११( १३ को कार्यसमितिमा अध्यक्ष पदमा निर्वाचित भएर काम गर्ने अवसर पनि मैले पाएं । त्यस्तै सन् २०१३ – १५ मा आइसीसी सदस्यका साथै कल्याणकारी तथा मानवीय सहायता टास्कफोर्सको सहसंयोजकको जिम्मेवारी निर्वाह गरें ।

यो सम्पूर्ण अवधिमा बेलायतस्थित नेपाली समुदाय, विभिन्न संघसंस्था, नेपाली दूतावास तथा महानुभावहरुबाट प्राप्त सहयोग र उत्साहकालागि म सधंै आभारी छु । सन् २०१२ मा हामीले इन्टा यूके तथा सहारा यूकेसंगको सहकार्यमा नेपालका पहिलो ओलम्पियन भूपेन्द्र सिलवाललाई बेलायत आमन्त्रण गरी लण्डन ओलिम्पिक्स हेर्ने व्यवस्था मिलायौं । उहांको भ्रमणले नेपालका खेलाडीहरुको मनोबल बढाउन मदत पुगेको मैले पाएको छु ।

संघमा बेलाबेलामा देखिने मतमतान्तरबाट उत्पन्न तिक्तता मेटाउन समन्वयकारी भूमिका निर्वाह गर्दै संघलाई अरु बढि एकतावद्ध तथा प्रभावकारी बनाउन पहल गर्नेछु ।

नेपाल पत्रकार महासंघ यूके शाखासंगको सहकार्यमा पत्रकार कल्याण कोषको स्थापना होस् वा नेप्लिज नर्सिङ एसोसिएसन यूकेसंगको सहकार्यमा विकट जुम्ला जिल्लामा सुत्केरी सेवा उपलब्ध गराउन बर्दिङ सेन्टर स्थापना गर्ने अभियान, सबै यूकेवासी नेपालीहरुको दरिलो सहयोग र प्रोत्साहनबाट मात्र सम्भव भएको हो ।

सन् २०१५( १७ मा संघको युरोप क्षेत्रीय संयोजकका रुपमा मैले गरेका कामहरु यहांहरु सबै सामु छन् । २७ वटा राष्ट्रिय समन्वय परिषदहरु रहेको युरोपस्थित एनआरएनको विशाल सन्जाललाई कृयाशील बनाउनुकासाथै नेपालमा भूकम्प आउंदा होस् वा बाढीको प्रकोप आउंदा हामीले अग्रपंक्तिमा रहेर काम गरेका छौं । त्यस्तै गोरखाको लाप्राकमा भूकम्प पीडितहरुकालागि निर्माणाधिन नमुना वस्ती तथा एनआरएनको आफ्नै भवन बनाउने अभियानमा युरोपबाट सहयोग जुटाउन युरोपस्थित एनसीसीहरुको अग्रणी भूमिका रहेको छ । बागमती नदीको छेउमा शंखमूलमा निर्माणाधीन एनआरएन पार्ककालागि पनि हामीले सहयोग जुटाएका छौं । सोही अवधिमा आइसिसिको लगानी तथा व्यापार प्रबर्धन टास्कफोर्सको संयोजकको रुपमा विशेषगरी युरोप क्षेत्रबाट नेपालमा विभिन्न परियोजनाहरुमा लगानी गर्ने कामहरु भएको छ भने नेपालमा उत्पादित सामानहरुलाई युरोप लगायत विभिन्न विश्व बजारमा पुराउने पहल पनि भइरहेको छ।

गएको दुई वर्षमा युरोपमा विभिन्न पेशा, व्यवसायमा संलग्न नेपालीहरुका समस्या सम्बोधन गर्नमा पनि म क्रियाशील रहेको छु। नेपालका परराष्ट्र मन्त्रालय तथा अन्य सरकारी अधिकारीहरुसंग समन्वय गरी स्पेनमा नेपाली दूतावास स्थापना गर्नमा सानो भएपनि भूमिका निर्वाह गर्न पाएकोमा मलाई खुसी लागेको छ । बेलायतस्थित भूपू गोर्खाका समस्या समाधान गर्न पनि मैले सक्दो पहल 
गर्दै आएको छु ।

साथीहरु,

मैले भन्ने गरेको छु, एनआरएनमा आफ्नो व्यक्तिगत भन्दा पनि संस्थागत एजेण्डालाई नै प्राथमिकता दिने प्रचलन छ। त्यसैले यहां व्यक्तिगत हार जित गौण हुनजान्छ । तथापि आजसम्म तपाईंहरुबाट प्राप्त स्नेह र एनआरएन अभियानमा मैले हासिल गरेको अनुभवको आधारमा तपाईं मित्रहरु संग सरसल्लाह गरी संघको केन्द्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । आजसम्म तपाईंहरुबाट प्राप्त स्नेह र एनआरएन अभियानमा मैले हासिल गरेको अनुभवको आधारमा तपाईं मित्रहरु संग सरसल्लाह गरी संघको केन्द्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । तपाईंहरुको सहयोगबाट उक्त पदमा निर्वा्चित भएमा आउंदो दुई वर्षे कार्यकालमा निम्न अनुसारका कामहरु गर्ने वाचा गर्न चाहन्छु ।

मेरा प्रतिवद्धताहरुः

१. गैर आवासीय नेपाली संघको भावना र मर्म अनुरुप संसार भरि फैलिएका एनआरएनए एनसीसीहरुसंग समन्वय गरी एनसीसीहरुलाई अरु बढि कृयाशील र सुदृढ तुल्याउन सक्दो भूमिका निर्वाह गर्नेछु।

२. खासगरी खाडी मुलुकहरु मलेसिया, कोरिया लगायतका मुलुकहरुमा कार्यरत लाखौं नेपाली दाजुभाइ दिदीबहिनीहरु लगायत गैरआवासीय नेपालीहरुले भोग्नुपरिरहेका आप्रवसन, भिसा, एमआरपी लगायतका समस्याहरुका बारेमा संबन्धित एनसीसीहरुसंग समन्वय गरी सम्बन्धित देशका नेपाली राजदूतावासहरु मार्फत ती समस्याहरुको समाधानका लागि कृयाशील रहनेछु ।

३. गैरआवासीय नेपाली संघको कल्याणकारी तथा मानवीय सहयोग समितिको सहसंयोजकको रुपमा विगतमा मैले प्राप्त गरेको अनुभवको आधारमा नेपालमा खासगरी भूकम्प पश्चातको पुनर्निर्माण कार्यमा सबै एनसीसीहरुलाई सकृय सहभागी तुल्याउन भूमिका निर्वाह गर्नेछु।

४. संसारभरि फैलिएका नेपालीहरुसंग रहेको क्षमता, सीप र पूंजी नेपालमा लगानी गर्ने वातावरण बनाउन पहल गर्नेछु।

५. प्रवासमा नेपाली भाषा, संस्कृतिको जगेर्ना गर्नुका साथै नेपाली समुदायको गौरवपूर्ण पहिचान जोगाइराख्न योजनावद्धरुपमा अगाडि बढ्नेछु ।

६. एक पटकको नेपाली सधैंको नेपाली नारालाई सार्थक बनाउन गैर आवासीय नेपालीहरुको हकहित सुरक्षित गर्ने गरी नेपालको संविधान अनुरुप गैर आवासीय नेपाली नागरिकता संबन्धी ऐन बनाउन पहल गर्नेछु ।

७. गैरआवासीय नेपाली अभियानमा संलग्न युवा, महिला, जनजाति लगायतका सदस्यहरुको हकहित सुरक्षित गरी उहाँहरुको उर्जा रचनात्मक दिशामा लगाउन सँधै सहयोगी भूमिका निर्वाह गर्नेछु । साथै संघमा बेलाबेलामा देखिने मतमतान्तरबाट उत्पन्न तिक्तता मेटाउन समन्वयकारी भूमिका निर्वाह गर्दै संघलाई अरु बढि एकतावद्ध तथा प्रभावकारी बनाउन पहल गर्नेछु ।

यिनै वाचाका साथ मैले विगतमा झैं यसपटक पनि तपाईं सबैको न्यानो माया र सहयोग प्राप्त हुने विश्वास लिएको छु ।

कुल आचार्य
यूरोप संयोजक तथा उपाध्यक्ष (उम्मेदवार)
गैर आवासीय नेपाली संघ
७ अक्टोवर २०१७

(उम्मेदवारी घोषणाका क्रममा आचार्यले जारी गरेको प्रेस विज्ञप्तिबाट)


क्लिकमान्डु