निधि बने बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलको संयोजक



काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा गठित बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलको पहिलो बैठकले कार्यदलको संयोजकमा नेकाका केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई सर्वसम्मतिले चयन गरेको छ ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति पार्टीबीच मंगलबार चुनावी गठबन्धन र पार्टी एकताको पहलका लागि सहमति भएपछि काँग्रेसको नेतृत्वमा छ दलले आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिको गठबन्धन बनाउन बुधबार कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलको शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गर्दै मंसिर १० र २१ गते हुने प्रदेश÷प्रतिनिधिसभाको निर्वाचनमा सिट बाँडफाँड, न्यूनतम निर्वाचनका साझा कार्यक्रमलगायत विषयमा अगामी बैठकमा छलफल गर्ने निर्णयसमेत गरेको छ ।

ती आवश्यक गृहकार्य गर्न बनेको कार्यदलमा नेकातर्फबाट सहभागी नेता पूर्णबहादुर खड्काले दिएको जानकारी अनुसार साँझ बस्ने कार्यदलको बैठकमा गठबन्धनका साझा नीति तथा कार्यक्रमका बारेमा विस्तृतरुपमा छलफल हुने बताए ।

उनका अनुसार बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक)बाट विक्रम पाण्डे, संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी थिए।

कार्यदलका संयोजक खड्काले संविधान कार्यान्वयन गर्न र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न बृहत् लोकतान्त्रिक गठबन्धनको गठन भएको स्पष्ट पारे ।


क्लिकमान्डु