एमालेद्वारा प्रत्यक्षतर्फ २३ उम्मेदवारको नाम सिफारिस



चितवन । नेकपा (एमाले) चितवनले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका उम्मेदवारको टुंगो लगाएको छ ।

समानुपातिकबाहेकको सदस्यको टुंगो लगाएको नेकपा (एमाले) चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए ।

चितवनमा तीनवटा निर्वाचन क्षेत्रअन्तर्गत क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पूर्व अर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेलाई र निर्वाचन क्षेत्र नम्बर २ मा सांसद कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको एमाले चितवनले जनाएको छ ।

यस्तै क्षेत्र नम्बर ३ मा भने घनश्याम भट्टराई, शंकर थपलिया, सूर्य जमरकट्टेल, बिना तिमिल्सिना र रवीकिरण पौडेलको नाम प्रस्ताव भएको जिल्ला अध्यक्ष पोखरेलले जानकारी दिए।

प्रदेशसभा सदस्यका लागि भने क्षेत्र नम्बर १ को (क) मा दावा लामा र कृष्ण पन्त तथा (ख) मा कृष्ण खनाल एवं क्षेत्र नम्बर २ को (क) मा विजय सुवेदी र (ख)मा तेजेन्द्र खड्का सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको छ ।

क्षेत्र नम्बर ३ को (क)मा कृष्ण भुर्तेल सर्वसम्मत भए पनि (ख)मा भने १० जनाको नाम आएकाले सबै नाम सिफारिस गरेको छ । यस्तै समानुपातिकतर्फको करिब ५० जनाको नाम आएकाले छनोट गरेर पठाइने एमाले चितवनका इञ्चार्ज खनालको भनाइ छ ।

यसअघि नेपाली काँग्रेस चितवनले भने २७७ जनाको नाम सिफारिस गरेर पठाइसकेको छ । नेकपा (माओवादी केन्द्र) चितवन भने छनोटको क्रममै रहेको जिल्ला इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए ।


क्लिकमान्डु