चाडबाडको मौका पारेर रुटमा चलेनन् सार्वजनिक सवारी, गुनासो गर्दा ट्राफिकले कारबाही नगरेको यात्रुकाे भनार्इ



फाइल

काठमाडौँ । दशैँको मौका छोपी सार्वजनिक यातायातले रुट परमिट लिएको स्थानमा सवारी नचलाउँदा आवत–जावतमा समस्या भएको यात्रुले गुनासो गरेका छन् ।

चाडबाड वा अन्य अप्ठ्यारो समयको अवसर पारेर सार्वजनिक यातायात तोकिएभन्दा बाहिर सञ्चालन हुँदा सडकमा सवारी नपाएर हिँड्नुपर्ने बाध्यता रहेको यात्रुको भनाइ छ ।

सार्वजनिक बिदा दिइएको फूलपातीका दिन बेलुकी पुरानो बसपार्क–सुन्दरीजल रुटमा चल्ने सिटी यातायात व्यवसायी सेवा समितिका बा२ख ६२६४ र बा२ख ६८०५ नंको बस खुलामञ्चस्थित बसपार्कमा नछिरी यात्रुको बिचल्ली बनाएको यात्रु रविना देउलाले दुखेसो गरे।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको फोन नं १०३ मा सवारी नम्बरसहित गुनासो गर्दा पनि प्रहरीले कारबाही नगरेको उनले सुनाए।

बाइस लाख यात्रु उपत्यकाबाहिर

महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेश रञ्जितकार रुटमा चल्ने भनी रुट परमिट लिएका सवारी रुटमा नचले त्यसको विवरण आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइने बताउँछन् ।

‘भदौ २० देखि असोज ११ गते बुधबार बेलुकीसम्म २२ लाख यात्रु दशैँ मान्न उपत्यका बाहिरिएका छन्, दशैँको अवसर पारेर बढी भाडा लिने १४ वटा लामो दूरीका, ६० वटा ट्याक्सी र बढी भाडा लिन बिचौलियाको काम गर्ने ३३ जनालाई कानुनी कारबाहीको दायरामा ल्याइएको छ,’ उनले भने।

सार्वजनिक यातायातका लागि निजी क्षेत्रका व्यवसायीको भर परिएको अवस्थामा चाडबाड र अप्ठ्यारो परिस्थितिमा जिम्मेवार भएर काम नगर्दा लाखौँ यात्रुले दैनिक दुःख झेल्नु परेको सार्वजनिक यातायात सुधारको अभियानमा लाग्नुभएका रामबहादुर थापा बताउँछन् ।

नियम उल्लङ्घन गर्नेलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही नहुँदा यातायात क्षेत्रमा विकृति मौलाएको उनले बताए ।

यातायात व्यवसायीको दबाबमा चाप भएका ठाउँमा सवारी चलाउन पाउने निर्णय विभागबाट गराएर यात्रुलाई दुःख दिने काम भएको उपभोक्ता अधिकारवादीको भनाइ छ ।

सार्वजनिक यातायात क्षेत्रमा कायम भएको एकाधिकार (सिण्डिकेट)ले गर्दा पनि यात्रु मर्कामा पर्ने गरेका छन् ।


क्लिकमान्डु