दशैंमा मेलम्चीको पानी काठमाडौं ल्याउने गफमै सिमित



काठमाडौं । सरकारले यही दशैमा काठमाडौंको सडक पखाल्न मिल्ने गरी ल्याउने भनेर बहुप्रचार गरको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम नै सकिएको छैन ।

आयोजनाको अझै १ हजार ६०० मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङ खन्ने काममा ठेकेदारले मनदेखि नै काम नगरेका कारण समयमा नै नसकिएको आयोजनाले जनाएको छ ।

स्पेनिस ठेकेदारले कमसल माटो रहेको कारण सुरुङ खन्ने काम प्रगतिमा नरहेको भन्दै अझै केही समय लाग्ने आयोजनालाई जानकारी गराएको छ ।

दैनिक १८ मिटरको दरले सुरुङ खनिएको छ । जुन रफ्तारमा काम भएको छ, त्यही गति कायम भए अझै चार महिना सुरुङ खन्न लाग्नेछ ।

खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले एक हजार ६०० मिटर मात्रै सुरुङ खन्न बाँकी रहेकाले मेलम्चीको पानी आउन अझै केही महिना लाग्ने जानकारी दिए ।

मेलम्चीको पानी दसैमा राजधानी ल्याउने भन्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजनाको स्थलगत निरिक्षण गरि बजेट अभाव नहुने आश्वासन दिएका थिए ।

तर कमसल चट्टानका कारण सुरुङ खन्न समस्या भएको भन्दै ठेकेदारले समयसीमा पर धकेल्ने काम गरेको मन्त्रालयको बुझाइ छ ।

यसअघि सरकारले तीन पटक सार्दै आएको मितिअनुसार २०७४ सालको बडा दशैँमा पानी आउने उल्लेख थियो ।

‘मेलम्चीका विषयमा विगतमा जे हल्ला र भ्रम थियो, अब त्यो हटेको छ, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राष्ट्रिय गौरवको मेलम्ची आयोजनाका लागि बजेट अभाव हुन दिन्नौँ भन्नुभएको छ, सुरुङ निर्माणमा तीन समूहमा काम भइरहेको छ,’ मन्त्री यादवले भने ।

मुलुकमै ठूलो आयोजना भएकाले पानी आउन १५ दिन वा १ महिना ढिला भए पनि आपत्ति मान्नु नहुने उनेको जिकिर छ ।


पुष्प दुलाल