दशैंमा तपाइको सामान चोरी हुनबाट बचाउन अपनाउनुस् यी ६ तरिका




काठमाडौं । दशैंको बेलामा आफू बसेको ठाउको घर वा कोठा छोडेर मान्यजन बस्ने गरेका ठाउमा जाने क्रम धेरै हुन्छ । यसो गर्दा आफू बस्दै गरेको ठाउको घर वा कोठामा कोही हुदैन । यस्तो बेलामा तपाइका बहुमूल्य सामान वा नगद चोरी हुने खतरा पनि धेरै हुन्छ ।

तपाइ नभएको मौका पारेर चोरले तपाइको लट्टीपट्टी पारेर सबै सामान चोर्न सक्छ । चोरी भयो भने तपाइको विजोग हुन सक्छ । त्यसैले दशैंको बेलामा घर वा कोठा छोड्दा पनि चोरी हुनबाट कसरी बच्न सकिन्छ भनेर हामीले नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेसँग सोधेका थियौं । उनले हामीसँग विशेष ६ वटा तरिका बताएका छन् । प्रहरी नायव महानिरीक्षक (डिआइजी) नेउपानेले दिएका ती ६ तरिका तपाइ समक्ष हामी राख्दैछौं ।

१. बहुमुल्य सामान र नगद घरमा नराख्ने
दशैंको बेलामा होस या अन्य कुनै पनि बेलामा लामो समय घर छोडेर परिवार नै वाहिर जादै हुनुहुन्छ भने घरमा बहुमूल्य सामान सकेसम्म नराख्नु होला । यस्तो बहुमूल्य सामान बैंकको लकरमा वा भरपर्दाे आफन्तलाई राख्न दिन सकिन्छ । यस्तै नगद पनि घरमा राखेर लामो समयको लागि घर छोडेर हिड्नु हुदैन

२. लोकेसन सार्बजनिक नगर्नुस्
सपरिवार कतै घुम्न गएको कुरा फेसबुक लगायतका सामाजिक सन्जालबाट सार्बजनिक गर्ने गरेको पनि पाइन्छ । सुरक्षाको दृष्टिकोणले यो राम्रो बानी होइन । घरमा कोही पनि नभएको जानकारी कसैले पायो भने तपाइको घरमा चोरी हुन सक्छ । वा तपाइ कहाँ हुनुहुन्छ भन्ने जानकारी कसैले पायो भने त्यही पनि विभिन्न प्रकारको सुरक्षा खतरा हुन सक्छ । तपाइहरु कतै घुम्न गएको फोटो सामाजिक संजालमा राख्नु छ भने पनि घर फर्किसकेपछि राख्दा राम्रो हुन्छ । आफू अहिले कहाँ छु भनेर लोकेसन सार्बजनिक गर्नु हुदैन ।

३. महंगो गहना लगाएर मठमन्दिर नजाने
दशैंको बेलामा मठमन्दिर जाने प्रचलन पनि बढी छ । यसरी मठमन्दिरहरु जाँदा धेरै भड्किला गरगहना नलगाउने । यस्तो लगाएर मठमन्दिर जादा चोरीको खतरा बढी हुन्छ ।

४. झ्याल ढोका बलियो राख्ने
तपाइ घरबाट बाहिर जादै हुनुहुन्छ भने झ्याल ढोका बलियोसँग लगाउनु पर्छ । झ्यालमा सिसामात्रै छ भने ग्रील लगाउनु उचित हुन्छ । सिसा फुटाएर पनि चोरी हुन सक्ने भएकोले विकल्प सोच्नुपर्छ ।

५. सुरक्षा निकाय वा आफन्तलाई जानकारी दिने
तपाइ घर छोडेर कतै जादै हुनुहुन्छ भने नजिकको सुरक्षा निकायलाई जानकारी दिनुु उचित हुन्छ । त्यसरी जानकारी दिएको अबस्थामा सुरक्षा निकायले पनि आफ्नो किसिमबाट निगरानी गरिराखेको हुन्छ । यस्तै नजिकको आफ्नो आफन्त वा छिमेकीलाई पनि जानकारी दिएको खन्डमा उनीहरुले पनि तपाइको घर हेर्दिरहेको हुन्छ ।

६. प्रविधिको प्रयोग
अहिले विभिन्न किसिमका सुरक्षा प्रविधि पनि प्रयोगमा छन् । सुरक्षा साइरनहरुको प्रयोग पनि गर्न सकिन्छ । यस्तै सिसीटिभी पनि प्रयोग गर्न सकिन्छ । तर, यसको लागि तपाइले केही खर्च गर्नुपर्ने हुन्छ । सबैभन्दा ठूलो कुरा आफ्नो थैलीको मुख बलियो बाध्ने नै हो । आफ्नो सामानको सुरक्षामा तपाइ सम्बेदनशील हुनुभयो भने चोरीको खतरा कम हुन्छ ।


क्लिकमान्डु