गोरखा क्षेत्र नम्बर २ मा भिड्ने भए बाबुराम र नारायणकाजी



काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघीय संसद्को निर्वाचनका लागि विभिन्न राजनीतिक दलले आफ्नो तयारी सुरु गरेका छन् ।

निर्वाचनको मिति घोषणा भएको र निर्वाचन आउन केही समय मात्रै बाँकी रहेको सन्दर्भमा सबैभन्दा रोचक प्रतिस्पर्धा गोरखा क्षेत्र नं २ मा हुने भएको छ ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले तीन निर्वाचन क्षेत्र रहेको गोरखालाई प्रतिनिधिसभा निर्वाचन तर्फ २ क्षेत्र कायम गरेको छ । यस्तै प्रदेशसभाका लागि चार निर्वाचन क्षेत्र कायम गरेको छ ।

गोरखाको निर्वाचन क्षेत्र नं २ मा प्रतिस्धर्पा यसकारण पनि रोचक हुने भएको छ कि नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र माओवादी छाडेर नयाँ शक्ति बनाएका डा बाबुराम भट्टराई एकै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भएका छन् ।

माओवादी केन्द्रको बिहिबार बसेको जिल्ला समितिको बैठकले गोरखा क्षेत्र नं २ बाट नारायणकाजी श्रेष्ठलाई चु्नावमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

माओवादी छाडेर नयाँ शक्ति बनाएका डा भट्टराईले गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराउन नसकेपनि माओवादीलाई हराउन भने सकेका थिए ।

गोरखाका २ तहमा मात्रै माओवादी विजयी हुन सक्यो भने अन्य तहमा नेपाली काँग्रेसले विजयको झण्डा गाड्यो । २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा तीन वटै क्षेत्र माओवादी विजय भएपनि गत स्थानीय तहको निर्वाचनमा उसले सर्मनाक हार व्योहोरेको थियो ।

गोरखा जिल्ला पार्टीले नारायणकाजीलाई ने उम्मेदवार बनाएपछि त्यसले राष्ट्रिय बहस समेत सिर्जना गरेको छ । त्यसो त डा भट्टराईले समेत आफ्नो जन्मस्थान गोरखाको पालुुङटार नगरपालिकाको खोप्लाङ भएकाले आफू सोही क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

स्थानीयबासी भएका नाताले पनि आफू सोही क्षेत्रबाट चुनाव लड्ने डा भट्टराईले यसअघि नै घोषणा गरेका छन् । त्यसो त संविधान निर्माणपछि कार्यान्वयनमा लाग्नुपर्ने समयमा संसद सदस्यबाट राजीनामा दिएर गोरखाली जनतालाई धोका दिएको भन्दै उनको विपक्षमा आक्रोश पनि कायमै नै रहेको छ ।

यद्यपी पूर्व माओवादी नेता र माओवादीका वरिष्ठ नेताबीचको चुनावी भिडन्तले अन्त्यमा भने फाइदा काँग्रेसले उठाउने विश्लेषण गरिएको छ ।


क्लिकमान्डु