फालाफाल पैसा भएपछि बैंकहरुले बोलाइबोलाई ऋण दिन थाले



काठमाडौं । गत असार/साउन महिनासम्म बैंकबाट ऋण पाउनु ठूलै युद्ध जितेजस्तो हुन्थ्यो । एउटा सानो ऋण लिनका लागि पनि धेरै पटक धाउनु पर्थ्यो । त्यतिमात्रै होइन, कर्जा विभागका कर्मचारीको पाउ मोल्नुपर्थ्यो । अलि ठूलो ऋण भए डेपुटी सीइओ र सीइओकै पाउ मोल्नुपर्थ्यो ।

त्यसबेला एउटा वाणिज्य बैंकमा ४/५ अर्ब रुपैयाँको हाराहारीमा कर्जाका फाइलहरु पेन्डिङमा थिए । प्रतिवद्धता गरिसकेको प्रोजेक्टलाई मात्रै बैंकहरुले सम्झौताअनुसार ऋण दिन्थे । नयाँ कर्जाको आवेदनलाई घर्रामा चाबी लगाएर राख्थे ।

तर, भदौ महिनादेखि अवस्था फेरिएको छ । अहिले कागजात मिलेपछि सहजै बैंकबाट ऋण पाइन्छ । त्यतिमात्रै होइन, बैंकहरुले असल ग्राहकलाई बोलाइबोलाई ऋणसमेत दिन थालेका छन् । आकर्षक स्किम ल्याएर बैंकहरु नयाँ कर्जा विस्तारमा एग्रेसिभलि लागेका छन् ।

‘केही महिना अघिसम्म निक्षेपकर्ता खोज्न निस्कने बैंकका कर्मचारीहरु अहिले ऋण खोज्न निस्कन्छन्,’ एक बैंकका सीइओले क्लिकमाण्डूसँग भने, ‘बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) धेरै भएपछि बैंकहरुलाई कर्जा विस्तार गर्ने चाप बढेको छ ।’

राष्ट्र बैंकका अनुसार अहिले बैंकहरूसँग ७२ अर्ब रुपैयाँभन्दा बढी अधिक तरलता छ ।त्यसैले अहिले बैंकहरुले निक्षेपलाई भन्दा कर्जालाई बढी केन्द्रविन्दुमा राखेका छन् ।

राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार हाल बैंकहरुको निक्षेप वृद्धिदर १४ प्रतिशतको हाराहारीमा छ भने कर्जा विस्तार १८/१९ प्रतिशतको हाराहारीमा छ ।

ठ्याक्कै एक वर्ष अघिदेखि सुरु भएको तरलता अभावको समस्या डेढ/दुई महिनादेखि सकिएको छ । गत पुस दोस्रो साता बैंकहरुको तलता १७ अर्ब रुपैयाँले ऋणात्मकसमेत भएको थियो । तरलता अभावकै कारण बैंकहरुले निक्षेपमा २२ वर्षयताकै महंगो व्याजसमेत दिएका थिए । मुद्दति निक्षेपमा बैंकहरुले १४ प्रतिशतसमेत व्याज दिएका थिए ।

बैंकर्स संघले मुद्दति निक्षेपमा १२ प्रतिशतभन्दा बढी व्याज नदिने भद्र सहमति गरेपनि बैंकरहरुले नै सो भद्र सहमतिको उल्लंघन गर्दै १४ प्रतिशतसम्म व्याज दिएका हुन् ।

तरलता बढेसँगै बैंकहरुले ब्याजदर पनि घटाउन थालेका छन् । निक्षेपको ब्याजदर घटे पनि अहिलेसम्म अनुभूति हुनेगरी कर्जाको ब्याजदर नघटेको व्यवसायीहरु बताउँछन् ।

बैंकरहरुले भने असोजमा प्रकाशित हुने आधार दर (बेस रेट) मा ब्याजदर घट्ने बताउँछन् । अहिले असारमा प्रकाशित बेस रेटका आधारमा ब्याजदर लिइरहेको र असारमा तरलता अभावको समस्या नसुल्झिएकाले निक्षेप आकर्षण गर्न बेस रेट पनि आकर्षक राखिएको उनीहरुको तर्क छ ।

बजारमा अधिक तरलता भएपछि नेपारल राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण रिभर्स रिपोमार्फत पटक पटक तरलता खिचिरहेको छ । चालू आर्थिक वर्षको २ महिनामा राष्ट्र बैंकले ६० अर्ब रुपैयाँभन्दा बढी तरलता खिचिसकेको छ ।


पुष्प दुलाल