सुविसु क्यान कमटेक २०१७ शुरु



काठमाडौं । क्यान महासंघको आयोजनामा बिहिवारदेखि राजधानीमा दोस्रो संस्करणको सुबिसु क्यान कमटेक २०१७ सुरु भएको छ ।

कमटेक प्रदर्शनी उद्घाटन गर्दै सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले नेपाल सरकारले सुचना प्रविधिलाई प्राथमिकताको क्षेत्रमा राख्ने प्रयास गरिरहेको जानकारी दिदै देशको आर्थिक समृद्धिका लागि आइटीको प्रयोगलाई ग्रामीणतहसम्म लैजान कार्ययोजना ल्याउने प्रतिबद्धता जनाए ।

‘हामी लामो समयसम्म राजनीतिक संक्रमणमै अल्झियौं । अब देशमा स्थिरता आएसँगै डिजिटल नेपाल निर्माणमा सबैको साझा सहकार्य र प्रतिबद्धता आवश्यक छ,’ मन्त्री बस्नेतले भने ।

विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्माले सरकारी सुचनालाई क्लाउडमा राख्ने कार्य भइरहेको जानकारी दिदै ई–गभर्नेन्स सेवाको क्षेत्रमा सरकारले कार्यक्रमहरु ल्याएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले ग्रामीण दुरसञ्चार विकास कोषको रकम खर्चेर देशका विभिन्न ठाउँमा अप्टिकल फाइबर योजना ल्याएको जानकारी दिए।

सुबिसु क्यान कमटेक २०१७ मा ६५ कम्पनीका कुल स्टल रहेका छन् । कमटेकमा इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, इलेक्ट्रोनिक सेक्युरिटी तथा सेफ्टी र सोलुसन, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स, मोबाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आइसिटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युट, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरु रहेका छन् ।

प्रदर्शनीमा सेक्युरिटी उत्पादनको छुट्टै पेभोलियन राखी अवलोकनकर्तालाई सहज रुपमा अवलोकन गर्ने व्यवस्था मिलाइएको क्यान महासंघले जानकारी दिएको छ ।


क्लिकमान्डु