निजगढ विमानस्थल निर्माणका लागि रुख काट्ने जिम्मा सेनालाई



काठमाडौं । बाराको निजगढमा निर्माण गर्न प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि नेपाली सेनासँग औपचारिक सहमति गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनाको इन्जिनियरिङ विभागबीच शनिबार सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सेनाले सहमति अनुसार रुख कटान गर्ने तथा विमानस्थल निर्माण क्षेत्रमा चक्रपथ निर्माण गर्ने छ । सरकारले गत जेठमा विमानस्थल निर्माणको लागि रुख कटानको जिम्मा सेनालाई दिन मन्त्रिपरिषद्बाट निर्णय भएको थियो ।

शनिबार भएको सहमतिपत्रमा प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम र नेपाली सेनाका मेजर जनरल योगेन्द्र बहादुर कठायतले हस्ताक्षर गरेका हुन् ।

सेनाले दुई वर्ष भित्रमा सवै कामसम्पन्न गर्ने छ । जसको लागि सरकारले यसवर्ष मात्रै १ अर्व ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सेनाले विमानस्थल निर्माण क्षेत्रमा पर्ने साना र ठूला गरी २४ लाख रुख कटान गर्ने छ । जसमा ६ लाख वटा ठुला रुख पर्ने वातावरणीय प्रभाव मुल्यांकन (इआए) को प्रतिवेदनमा रहेको छ ।
सरकारले यसैवर्षभित्र निर्माण कम्पनीको छनोट गरी निर्माण कार्यसमेत सुरु गर्ने योजना रहेको छ ।

विगत लामो समयदेखि चर्चामा रहेको उक्त विमानस्थल पहिलो र दोस्रो चरणमा निर्माण गर्ने सरकारको तयारी छ । ४ हजार मिटर लामो र ४५ मिटर फराकिलो तथा दोहोरो धावन मार्ग हुने छ ।

उक्त धावनमार्गमा हाल विश्वबजारमा उत्पादन भएका सबैजसो अत्याधुनिक वाइडबडी जहाजहरु उडान/अवतरण गर्न सक्छन ।

निर्माण सम्पन्न भएपछि वार्षिक ६ करोड यात्रु धान्न सक्ने उक्त विमानस्थल टर्मिनल भवनमा ६ वोर्डिङ गेट, ३४ चेक इन काउन्टर, ६ सुरक्षा जाँच, ३५ अध्यागमन, ८ भन्सार जाँच काउन्टर रहनेछन ।

त्यसैगरी यात्रु सजिलोका लागि टर्मिनल भवनको माथिल्लो तलामा प्रस्थान र तल्लोतलामा आगमनका लागि बनाइने छ ।


पुष्प दुलाल