सस्तो मूल्यमा सुविधा सम्पन्न इलेक्ट्रिक कार, नेपालमा कुनको मूल्य कति ?



काठमाडौं । बढ्दो प्रदूषणका कारण विश्वव्यापी जलवायु परिवर्तनसँगै निम्तिएका विभिन्न समस्याले विश्व नै चिन्तित हुन थालेको छ । यसका लागि प्रदूषण कम गर्न विभिन्न खोज तथा अनुसन्धानमा ठूला मुलुकहरुले अर्बौं डलर खर्चन थालेका छन् ।

वातावरण प्रदूषणको एक मुख्य कारकको रुपमा सवारी साधनलाई लिइन्छ । इन्धनबाट चल्ने सवारीले अधिक प्रदूषण गर्छन् । आवतजावत र सामान ओसारपसारका लागि सवारी साधनको विकल्प देखिइ सकेको छैन । तर, त्यस्ता सवारी चलाउने ‘इनर्जी’को भने विकल्प आइसकेको छ । त्यसैले इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापित गर्दै जाने निश्चित छ ।

यसका लागि समय भने पक्कै लाग्नेछ । विश्वका ठूला सवारी उत्पादक कम्पनीहरुले पछिल्लो समय विद्युतीय सवारी उत्पादनलाई समेत प्राथमिकता दिन थालेका छन् ।

दुई पांग्रेदेखि चारपांग्रे हुँदै ठूला (मास ट्रान्सपोर्ट) बससमेत विद्युतीय उत्पादन हुन थालि सकेका छन् । नेपालमा पनि दुईपांग्रे तथा चारपांग्रे विद्युतीय सवारी भित्रिएको लामै समय भइसक्यो । चारपांग्रे विद्युतीय सवारी सन् २००७ मा महिन्द्राको रेभा आएको थियो ।

भारतीय सवारी उत्पादन कम्पनी महिन्द्रा रेभाले सन् २००१ मा भारतमा विद्युतीय सवारी रेभा सार्वजनिक गरेको हो । त्यसयता नेपालमा ल्याउने प्रयास भए पनि २००७ मा मात्र रेभा नेपाल ल्याउन सफल भएको हो ।

महिन्द्रा इटुओ

महिन्द्राको इटुओ नेपालमा २६ लाख ५० हजार पर्ने यो कारको पछाडि समेत विपर राखिएको छ । यो कार सराङकोटको उकालोमा समेत राम्रोसँग चलेको अग्नी इन्कर्पोरेटका असिस्टेन्ट म्यानेजर सिजन न्यौपाने दावी गरे । यो कारको भन्सार छुट हुने भएकोले मात्र यती सस्तोमा पाइएको न्यौपानेले जानकारी दिए ।

यो कार ५ देखि ६ घण्टामा फूल चार्ज हुने र फूल चार्ज भएपछि १२० किलोमिटरसम्म चल्ने कम्पनीले जनाएको छ । यसमा एयर ब्याग लगाएतको सेफ्टी फिर्चस समेत छ ।

किया ‘सोल इभी’

कोरियाली अटो कम्पनी कियाको नेपालको लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नयाँ विद्युतीय कार ‘सोल इभी’ ल्याएको छ ।

दुई साता अगाडी मात्रै नेपालमा औपचारिक बिक्रि सुरु गरेको कार वातावरणमैत्री भएको कम्पनीले दाबी गरेको छ । उच्च प्रविधि जडान भएको सोल इभीको ब्याट्री शक्तिशाली रहेको र यसमा जस्तो क्षमता अन्य कुनै विद्युतीय सवारीमा नभएको कम्पनीको दाबी छ ।

यो कार एक पटकको पूरा चार्जमा १ सय ८० किलोमिटर गुड्ने कम्पनीले जनाएको छ । यो कारमा लिथियम आयोन पोलिमर ब्याट्री छ, जसको पावर ९० किलोवाट छ । धेरै कुद्ने भए पनि यसको व्याट्री चार्ज गर्न एकदमै कम समय लाग्छ ।

कम्पनीले सञ्चालन गर्न लागेको चार्ज स्टेसनको डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३३ मिनेट, एसी फास्ट चार्जरबाट ४ घण्टा र कार किन्दा ग्राहकलाई दिइने एसि लो चार्जरबाट मौसम अनुसार १५ देखि १८ घण्टा लाग्ने कम्पनीले जनाएको छ ।

यसको ब्याट्रीमा सात वर्षको ग्यारेन्टी दिइएको छ । यात्रु तथा चालकको सुरक्षाका लागि यसमा एयरब्याग समेत समावेस छ । दुई वटा संस्करणमा उपलब्ध यो कारको मूल्य क्रमशः ५६ लाख र ५८ लाख रुपैयाँ छ । यसको महँगो संस्करणमा सन रुफ छ । यो कारमा गियरको झन्झट हुदैन ।

सुविधा सम्पन्न ‘बीवाईडी’ गाडी

सन् २०१५ मा संसारमा सबैभन्दा बढी विद्युतीय सवारी साधान बिक्री गर्न सफल चिनियाँ विद्युतीय ब्याट्री गाडी निर्माता कम्पनी बीवाईडीलेको बिक्री गत वर्ष देखि नेपालमा पनि भइरहेको छ । सिमेक्स प्रालिले नेपालमा उक्त गाडी बिक्री सुरु गरेको हो ।

कम्पनीले नेपालमा ‘बीवाइडी इ सिक्स’ कार बिक्री गरिरहेको छ । एक पटक चार्ज गरेपछि चार सय किलोमिटर ड्राइभिङ गर्न मिल्ने यो कारको अधिकतम गति प्रतिघण्टा एक सय ४० किलोमिटर रहने छ ।

गडीको मूल्य ५८ लाख रुपैयाँ रहेको छ । त्यस्तै प्यासेन्जर बसको रुपमा देशभर चलाउन तथा काठमाडौं उपत्यकामा चलाउनको लागि ‘वीवाइडी के नाइन’ गाडी पनि कम्पनीले ल्याउने भएको छ । सार्वजनिक यातायातमा चलाउन मिल्ने यी सवारी सुविधा सम्पन्न हुने कम्पनीले जनाएको छ ।

नेपालमा पनि खुल्दै छ चार्ज स्टेशन

देशभर स्टेशन विस्तार गर्दै जाने योजना बनाएको सिमेक्सले प्रत्येक चार सय किलोमिटर अर्थात २ घण्टाको ड्राइभिङ दुरीमा स्टेशनहरू रहने जनाएको छ । जसले गर्दा गाडी चालकहरुलाई चार्ज सकिने चिन्ता हुदैन । संसारभर विद्युतीय सवारीसाधनको माग र प्रयोग बढिरहे पनि नेपालमा यसको व्यावसायिक अभ्यास अझै भएको छैन ।

वातावरणीय प्रदुषण न्यूनीकरणको लागि भन्दै विद्युतीय सवारीको प्रयोगमा जोड दिनुपर्ने गोष्ठि सेमिनारमा बाहेक व्यवहारमा लागू हुन सकेको छैन । बिजुलीको चार्जबाट चल्ने कार, गाडीहरू किन्न त किन्ने तर चार्ज सकिएपछि कहाँ चार्ज गर्ने ? कसरी गर्ने ? जस्ता व्यवहारिक कठिनाइकै कारण यस्ता साधन नेपालमा त्यति लोकप्रिय हुन नसकेको व्यापारीहरु बताउँछन् ।

अब विद्युतीय सवारी साधन प्रयोग नगर्नलाई विभिन्न बहाना बनाउनेहरुको लागि उत्तम विकल्पसहित व्यवसायिक बिक्री वितरण सुरु हुने भएको छ ।

पहिलो चरणमा उपत्यकाका ६ र अन्य प्रमुख सहरहरुमा ७ वटा त्यस्ता स्टेशन निर्माणमा लागि परेको र यो काम अबको ६ महिनाभित्र सकिसक्ने श्रेष्ठले बताए ।

उपत्यका लगायतका विभिन्न स्थानमा लोडसेडिङ अन्त्य भएको र निकट भविष्यमा उत्पादन हुने बिजुलीको खपत कसरी बढाउने भनेर बहस भइरहेको बेला व्यक्तिगत प्रायोजनमा मात्र होइन सार्वजनिकमा पनि विद्युतीय सवारीको प्रयोग सुनिश्चित गर्नेगरी योजना सुरु भएका छन् ।

यसअघि विना तयारी सवारी साधन ल्याइने गरेको तर त्यसको आम प्रयोगका लागि सम्भव नभए पनि अब पूर्वाधारसहित त्यस्ता सवारी सडकमा गुड्न सम्भव हुने सिमेक्सका प्रबन्ध निर्देशक नरेश श्रेष्ठले बताए । पहिलो चरणमा उपत्यकाका ६ र अन्य प्रमुख सहरहरुमा ७ वटा त्यस्ता स्टेशन निर्माणमा लागि परेको र यो काम अबको ६ महिनाभित्र सकिसक्ने श्रेष्ठले बताए ।

उपत्यकाका बालुवाटार, जावलाखेल, सल्लाघारी, दरबारमार्ग, कलंकी र चाबहिलमा त्यस्ता स्टेशन निर्माण हुनेछन् । अरु साधन पेट्रोल पम्प गएजस्तै ती साधनहरु चार्जिङ स्टेशनमा जानेछन् । उपत्यका बाहिर नेपालगञ्ज, पोखरा, बुटवल, नारायणघाट, वीरगञ्ज, बर्दिबास र इटहरीमा त्यस्ता स्टेशन निर्माण हुने सिमेक्सले जनाएको छ ।


क्लिकमान्डु