जुत्ता कम्पनी बाटाका यी तथ्य जुन तपाईलाई थाह नहुन सक्छ



बाटा जुत्ताको नाम सुन्नु भएको होला । भारतमा फुटवेयर व्यवसायमा राज गरेको कम्पनीको प्रभाव नेपालमा पनि छ । नेपालमा अहिले राम्रा जुत्ता कम्पनी भएपनि बाटा ब्राण्डको जुत्ता र चप्पल लगाउनेहरु छन् ।

बाटा कम्पनीका केही रोचक तथ्यहरु छन् । तपाईलाई लाग्न सक्छ बाटा कम्पनी भारतीय हो । त्यो सोच्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ । बाटा सन् १८९४ मा चेक गणतन्त्रमा स्थापना भएको हो । यो युरोपियन कम्पनी हो ।

बाटा कम्पनीको सुरुवात गर्ने टमस बाटाको १९३२ मा प्लेन दुर्घटनामा निधन भएको थियो । त्यसपछि उनका १८ वर्षका छोराले कारोबार समालेका थिए । उनले कारोबार चेक गणतन्त्रबाट बाहिर फैलाउन सुरु गरे । सन् १९३५ मा कराची हुँदै कलकत्ता पुगे ।

सन् १९३० सम्म भारतमा जुत्ता कारखाना थिएन । जापानबाट जुत्ता आयात हुन्थ्यो । बाटाले सन् १९३९ मा कलकत्तामा जुत्ता बनाउन सुरु गर्यो । बाटाले केही समयमा नै ३५०० जोर जुत्ता हरेक साता बिक्री गर्न थाल्यो । त्यसपछि पटनामा लेदरको कारखाना सुरु भयो । यो क्षेत्रलाई अहिले बाटागन्ज नामबाट चिनिन्छ ।

बाटाको अहिले १८ देशमा २३ वटा उत्पादन कारखाना रहेका छन् । २० औ शताब्दीमा बाटा युरोपको सबैभन्दा ठूलो जुत्ता कम्पनी थियो । २००४ मा गिनिज बुक रेकर्डमा सबैभन्दा बढी जुत्ता उत्पादन र रिटेलर बनेर रेकर्ड कायम गरेको थियो । बाटाले अहिलेसम्म १४ अर्ब जोर जुत्ता बनाइसेको छ । जुन अहिलेसम्मकै बढी हो ।

बाटाका संस्थापक टमस बाटाको नाममा सन् २००१ देखि चेक गणतन्त्रमा विश्वविद्यालय खोलिएको छ । जसमा १० हजार विद्यार्थीले अध्ययन गर्छन् ।

बाटाले गतवर्ष भारतमा अनलाइन माध्यमबाट ६ लाख ३० हजार जुत्ता बिक्री गरेको छ । भारतमा १३ सयभन्दा बढी यसको स्टोर छन् । बाटाले जुत्ता मात्र नभएर मोजा,पालिस लगायतका सामाग्रीपनि बिक्री गर्दै आएको छ । इकोनोमिक्स टाइम्सबाट साभार


क्लिकमान्डु