बुद्ध एयरको भरतपुर–पोखरा उडान भदौ ३० देखि शुरु



चितवन । काठमाडौँसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल यही भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ ।

नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान शुरु गर्ने भएको हो ।

बुद्ध एयर भरतपुरमा प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार बिहान १० बजे पोखराबाट भरतपुरका लागि जहाज उड्ने र १०ः३० बजे भरतपुरबाट पोखरा उड्ने छ । बुद्ध एयरले बिचक्राफ्ट सञ्चालन गर्दैछ जसमा १८ यात्रु अट्ने छन् । भाडादर एकतर्फी ३ हजार हजार ६०० कायम गरिएको बस्नेतले बताए ।

पोखरा–भरतपुर हवाई सेवा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकका कारण आउन नचाहेका पर्यटक भित्र्याउन सकिने व्यवसायीको अपेक्षा छ ।

चितवनमा कास्की, बागलुङ, तनहुँ, पर्वतलगायत जिल्लाबाट बसाइँसराइ गरी आउने र व्यवसाय गर्नेको संख्या बढी भएकाले उडानलाई व्यावसायिक सफलता मिल्ने अपेक्षा गरिएको छ । बस्नेतले निरन्तर उडानका लागि आवश्यक प्रचार र सहयोगको खाँचो हुने बताए ।  रासस


क्लिकमान्डु