दशैका लागि हवाई टिकट सकिदैं



काठमाडौं । सडकमा अवरोधका कारण दशैं तथा तिहारका लागि अधिकांस टिकट बुकिङ भइसकेको एयरलाइन्स कम्पनीले जनाएका छन् ।

बिमान कम्पनी र उडान संख्या उल्लेख्यरुपमा थपिएपनि बाढी पहिरो तथा सडक अवरोधका कारण दशैंका लागि अधिकांस टिकट बुकिङ भइसकेका छन् ।

दशैको समयमा काठमाडौंमा रहेका अधिकांस नेपालीहरु जन्मथलो तर्फ जाने गरेका छन् । नारायणगढ–मुग्लीन सडकखण्ड अझै अवरुद्ध रहेकाले पनि बिमान कम्पनीहरुमा चाप परेको हो ।

आन्तरिक उडान भर्दै आएका बुद्ध, यति, सिम्रिक, श्री, सौर्य, सिता लगायत सवैजसो एयरलाइन्स कम्पनीहरुले दशैंका लागि टिकट सकिएको जनाएका छन् । दशैका मुख्य दिन फुलपाती, अष्टमी र नवमीको दिनको लागि भने सत प्रतिशत टिकट सकिएको छ । भने घटस्थापना देखि फुलपातीको अघिल्लो दिनसम्मको पनि ८० प्रतिशत टिकट बुकिङ भएको एयरलाइन्स कम्पनीहरुले जानकारी दिएका छन् ।

बुद्ध एयरकी मार्केटिङ म्यानेजर बिनिता थापाका अनुसार दशैंको लागि कम्पनीको अधिकांश टिकट बुकिङ भइसकेको बताउँछिन् । भैरहवा, भरतपुर र पोखरामा सतप्रतिशत बुकिङ भइसकेको छ । त्यस्तै बिराटनगर र धनगढीको लागि पनि टिकट सकिन लागेको थापाले जानकारी दिइन ।

केहि हप्ता अघिबाट मात्रै उडान थालेको श्री एयरलाइन्सको पनि धेरै टिकटहरु बुकिङ भइसकेको मार्केटिङ म्यानेजर अनिल मानन्धर बताउँछन् । दशैंमा पछिल्ला दिनका उडानहरुमा बुकिङको चाप उच्च रहेको उनको भनाई छ । यो बिमान कम्पनीले अहिले भद्रपुर, बिराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भरिरहेको छ ।

सिम्रिक एयरलाइन्सले पनि दशैको अधिकांश टिकट बुकिङ भइसकेको जानकारी दिएको छ । सिम्रिक एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापा दशैका सत प्रतिशत टिकट बुकिङ भइसकेको बताउँछन् ।

दशैको बुकिङ भन्नाले घटस्थापनादेखि टीकाको अघिल्लो दिनसम्मलाई बुझिन्छ । दशैंका अन्य दिनहरु भन्दा सप्तमी, अष्ठमी र नवमीका टिकटहरु छिट्टै नै सकिने थापा बताउँछन् ।

‘दशैंको करिब ८० प्रतिशत टिकट बुकिङ भइसकेको छ, तर सप्तमी, अष्ठमी र नवमीको भने झन्डै ९५ प्रतिशत टिकट बुकिङ भएको छ’ थापाले भने ।

यात्रुको बढी चाप भएका स्थानमा भने बिमान कम्पनीहरुले अन्तिम तीन दिनमा थप उडान समेत भर्ने योजना बनाएका छन् । थापाका अनुसार दशैका समयमा सिम्रिक एयरलाइन्सले तुम्लीङटारमा पनि थप उडान भर्ने छ ।

 


क्लिकमान्डु