भीआइपी गाडीबाट यसरी हुँदोरैछ तस्करी, मध्यरातमा प्रहरीले समात्यो ८८ किलो सुन



काठमाडौं । केरुङ नाका हुँदै रसुवाबाट काठमाडौंतर्फ ठूलो परिणाममा सुन तस्करी हुँदैछ भन्ने सूचना प्रहरीलाई ३/४ दिन अघि नै थियो । सुराकीले दिएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाइरहेको थियो ।

यस्तो सूचना आएपछि प्रहरीले ‘गोल्ड अपरेशन’ नामक सर्च अपरेशन सुरु गर्यो । त्यसका लागि ठूलै संख्यामा प्रहरी फोर्स परिचालन गरिएको महानगरीय प्रहरी प्रभागका एसएसपी दिबेश लोहोनीले जानकारी दिए ।

‘यो तस्करीमा एक/दुई जनाको मात्रै संलग्नता छैन, यो त संगठित अपराध हो, तस्करहरुको ठूलै जालो भएको अनुमान सहजै गर्न सकिन्छ ।’

प्रहरी सतर्क थियो । आइतबार राती बा १७ च ६४२७ नम्बरको टाटा सफारी जीप काठमाडौं आइपुग्यो । प्रहरीले अझै निगरानी बढायो । उक्त जीपमा ‘भीआईपी’ लेखिएको स्टिकर टाँसिएको थियो । जुन गाडीभित्र तस्करी गरेर ८८ किलो सुन ल्याइएको थियो ।

काठमाडौंको क्षेत्रपाटीमा सुन तस्करीका लागि प्रयोग गरिएको गाडी राती १० बजेदेखि नै पार्किङमा राखिएको थियो । ड्राइभर रातभरी नै पार्किङ गरेको गाडीमा बसे ।

त्यसबेलासम्म यसै गाडीमा सुन तस्करी भएको छ भन्ने प्रहरीले यकिन भने गरिसकेको भने थिएन । तर, सुराकीले दिएको सूचनाका आधारमा टाटा सफारी गाडीलाई तीब्र निगरानीमा राखेको थियो ।

जब बिहान २ बजे मकवानपुर स्थायी घर भएका जीप चालक मनोज अधिकारीले गाडी स्टार्टट गरे । तब प्रहरीले खानतलासी गर्यो । ड्राइभर अधिकारीले केही पनि नभएको बताए । झट्ट हेर्दा गाडीमा केही पनि देखिँदैन थियो ।

तर, प्रहरीलाई यो गाडीमा तस्करी भएको भन्ने ठूलो आशंका थियो । र, केही नदेखिँदा नदेखिँदै पनि खानतलासीलाई तीब्र बनायो । प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लियो । र, महानगरीय प्रहरीको कार्यालय टेकुमा ल्यायो ।

उज्यालो हुनासाथ प्रहरीले गाडीका भित्रि भागहरु खोलेर हेर्दा सुनैसुन भेटियो । प्रहरीले ८८ किलो सुनका बिस्कुट फेला पार्यो ।

एसएसपी लोहोनी

‘एकैपटक यतिधेरै सुन बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो,’ एसएसपी लोहोनीले भने, ‘पक्राउ परेका चालकलाई नियन्त्रणमा लिएर बयान लिइरहेका छौं । अहिलेसम्म खासै बोल्न मानेका छैनन्, अनुसन्धान प्रक्रियामा उनीबाट बयान लिएर नाइके पत्ता लगाउने छौं ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उक्त सुन कहाँ लगिँदै थियो भन्ने खुलेको छैन । तर, सुन तस्करीमा चिनियाँ नागरिकको संलग्नता रहेको भने देखिएको एसएसपी लोहोनीले बताए ।

‘यो तस्करीमा एक/दुई जनाको मात्रै संलग्नता छैन,’ लोहोनीले भने, ‘यो त संगठित अपराध हो, तस्करहरुको ठूलै जालो भएको अनुमान सहजै गर्न सकिन्छ ।’

प्रहरीले बरामत गरेको ८८ किलो सुनको मूल्य ४३ करोड रुपैयाँभन्दा बढी पर्छ । यसअघि प्रहरीले यो परिणाममा सुन बरामत गर्न सकेको थिएन ।

केहीदिन अघि मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ३५ किलो सुन बरामद गरेको थियो । एसएसपी लोहोनीले तस्करहरुको त्यो समूह र यो समूहबीचको कनेक्सन खोतल्ने प्रयास भइरहेको जानकारी दिए ।


पुष्प दुलाल