सर्वोच्च अदालतले भन्यो- १५ दिन एफएनसीसीआई उपाध्यक्षको चुनाब नगर्नु



काठमाडौं। यही भदौ १९ गते हुने भनिएको नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला/नगर उपाध्यक्षको निर्वाचन कम्तिमा १५ दिनका लागि पर सरेको छ ।

सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै १५ दिन चुनाब नगर्न भनेपछि चुनाब सरेको हो ।

सक्रिय राजनीति गरेपछि पदबाट हटाइएका प्रमोद श्रेष्ठले सर्बोच्चमा मुद्दा हालेका थिए । गत बैशाख ३१ गते भएको स्थानीय तहको चुनाबमा श्रेष्ठ एमालेका तर्फबाट बेनी नगरपालिकाको मेयर पदमा उठेका थिए । उनले मेयरको चुनाब पनि हारे । र, सक्रिय राजनीति गरेको भन्दै महासंघ पदाधिकारी बैठकले बिधानअनुसार श्रेष्ठलाई पदबाट बर्खास्त गरेको थियो ।

सोमबार हुने उपाध्यक्ष पदको निर्वाचनका लागि किशोर प्रधान, निरक केसी र प्रकाशबहादुर साउदले उम्मेदवारी दिएका थिए।

महासंघ विधानको दफा ४६ को उपदफा ३ को (घ)मा कार्यकारिणी अधिकार भएको कुनै राजनीतिक प्रकृतिको पदमा नियुक्त भएमा वा निर्वाचित भएमा स्वत पदमुक्त हुने उल्लेख छ ।

आफूलाई पदमुक्त गरिएको प्रति असन्तुष्टि जनाउँदै श्रेष्ठ सर्बोच्च पुगेका थिए । न्यायधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलाशले अन्तरिम आदेश जारी गर्दै महासंघलार्इ १५ दिनभित्र कारणसहित उपस्थित हुन आदेश दिएको हो।


क्लिकमान्डु