अटो शो मा सार्वजनिक भएका नयाँ गाडीका यस्ता छन् विशेषता, मूल्य कति ?



काठमाडौं । भृकुटीमन्डपमा जारी मंगलबार बाट सुरु भएको नाडा अटो शो दर्जनौ बिक्रेताहरुले नयाँ नयाँ मोडलका गाडीहरु प्रर्दशनीमा राखेका छन् ।

जब नाडा अटो शो नजिकिँदै जान्छ, तब नयाँ सवारी सार्वजनिक हुने क्रम समेत बढ्छ । अझ अटो शोमै सार्वजनिक हुने नयाँ सवारीको संख्या पनि धेरै नै हुन्छ । गत आर्थिक वर्षमा नयाँ मोडलका सवारी आयात निकै कम भएको व्यवसायीहरुको भनाइ छ ।

अटो शोमा जर्मनीको फक्सवागन, भारतीय टाटा, बेलायती मोरिस ग्यारेज (एमजी), जापानी सुजुकी, रेनोलगायत कम्पनीले नयाँ कार प्रदर्शनी लक्षित गरी सार्वजनिक गरिसकेका छन् । कतिपयले बिलकुल नयाँ मोडल र कतिपयले चलिरहेकै मोडलको रिभाइज भर्सन ल्याएका÷ल्याउँदै छन् ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले हरेक वर्ष दसैंअघि आयोजना गर्दै आएको मेलामा नयाँ गाडी सार्वजनिक गर्ने प्रतिस्पर्धा नै हुने गरेको छ । यो वर्ष अटो शो लक्षित गरी सार्वजनिक गरिएका सवारीहरु यस्ता छन् ।

फक्सवागन न्यू टिग्वान

जर्मन प्रिमियम कार निर्माता भक्सवागनले चर्चित एसयूभी गाडी टिग्वानको रिभाइज्ड भर्सन नेपाली बजारमा भित्र्याएको छ । भक्सवागनको विक्रेता विशाल समूहअन्तर्गतको पूजा इन्टरनेशनलले नयाँ टिग्वान सार्वजनिक गरिसकेको छ ।

अटो शोलाई लक्षित गरी ल्याइएको नयाँ टिग्वान चारवटा भेरियन्टमा उपलब्ध छ । साथै सोही अवसरमा तीनवटा भेरियन्टका एमरोक पिकअप पनि भित्र्याइएको छ ।कम्पनीले नयाँ टिग्वानको मूल्य ९९ लाख रुपैयाँदेखि एक करोड २८ लाखसम्म तोकेको छ । चारवटै भेरियन्टको ग्राउन्ड क्लियरेन्स दुई सय एक मिलिमिटर छ । कारमा ६० लिटर इन्धन क्षमताको ट्यांकी छ ।

यसमा सिक्स स्पिड डबल क्लच ट्रान्समिसन डीएसजीदेखि सेभेन स्पिड अटोमेटिक ट्रान्समिसन गियरबक्स छ । कारमा अगाडि र पछाडि डिस ब्रेक, अगाडि दुईवटा रिडिङ लाइट, आठवटा स्पिकर, सेन्टर लक, मोबाइल फोन कनेक्सन, एडजस्टेवल सिट, रिभर्स पार्किङ क्यामेरा, पार्किङ ब्रेक, ६ वटा एयरब्याग र दुई आवाजको हर्नलगायत फिचर्स छन् ।

एमजी जिएस एसयूभी

बेलायती ब्रान्ड मोरिस ग्यारेज (एमजी)ले दुई मोडलमा एसयूभी नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले १५ सय सीसीको एमजी जीएस र दुई हजार सीसीको एमजी एडब्लूडी ल्याएको हो । एमजी गत वर्षको नाडा अटो शोबाट नेपाल आएको थियो । एसएलआर टेक्नोलोजी एन्ड ट्रेड प्रालिले एमजी गाडी बिक्री गर्दै आएको छ ।

वातावरणमैत्री युरो–५ मापदन्ड प्रमाणित एसयूभी डिजाइन र आरामदायी यात्राको हिसाबले उत्कृष्ट रहेको कम्पनीको दाबी छ । एमजी जीएस मोडलका गाडीको बजार मूल्य ६५ लाख रुपैयाँभन्दा माथि तोकिएको छ । नयाँ मोडल अटो शो मा सार्वजनिक गरिएको छ ।

 

टाटा टिगोर

भारतीय सवारी निर्माता कम्पनी टाटाको कम्प्याक्ट सेडान कार ‘टिगोर’ भित्रिसकेको छ । आकर्षक, चुस्त, अत्याधुनिक एवं डाइनामिक डिजाइनका कारण टिगोरलाई ‘स्टाइल ब्याक’ उपनाम दिएको छ । कम्प्याक्ट सेडान टिगोरमा मल्टी ड्राइभ मोडका लागि नयाँ रिभोटर्न १२ सय सीसीको शक्तिशाली पेट्रोल इन्जिन रहेको छ ।

टिगोर कार ‘एक्सई, एक्सटी, ‘एक्सजेड र एक्सजेड अटोमेटिक गरी चारवटा भेरियन्टमा छ । यो कारको सुरुवाती मूल्य २३ लाख ४५ हजार र अधिकतम मूल्य २९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । कारको बाहिरी बनावट एक्सप्रेसिभ, एक्साइटिङ र एक्स्ट्रा अर्डिनरी तरिकाले डिजाइन गरिएको छ ।

आकर्षक फिनिसिङसहित उत्कृष्ट ड्युल टोन इन्टेरियर, आरामदायी सिटलगायत कारका उत्कृष्ट विशेषता हुन् । कारमा गोल्डेन इयर्ससहित हर्मन प्रविधिको अत्याधुनिक अडियो तथा कनेक्टनेक्स्ट इन्फोटेनमेन्ट सिस्टम छ ।

कारमा अटोमेटिक क्लाइमेट कन्ट्रोल फिचर छ । कारमा जडित ड्युल फ्रन्ट एयरब्याग, कर्नर स्टाबिलिटी कन्ट्रोल (सीएससी) सहितको एबीएस, ईबीडी र रिभर्स पार्क क्यामेरालगायत विशेषताले यात्रा सुरक्षित बनाउनेछ ।

डाटसन ’रेडी गो वानएल’

जापानी डाटसन ब्रान्डको ‘रेडी गो’ शक्तिशाली इन्जिनमा आउने सार्वजनिक भएको छ । डाट्सनले रेडी गो एक हजार सीसी क्षमतामा नयाँ गाडी ल्याएको हो ।

यसअघि नेपाल भित्रिएको आठ सय सीसीको रेडी गो इन्ट्री लेबल कारमा लोकप्रिय छ । शक्तिशाली इन्जिन र परिष्कृत सुविधासहित रेडी गो भित्र्याएको थियो । पेट्रोल इन्जिनको रेडी गो दुईवटा भेरियन्टमा उपलब्ध रहेको छ ।

यसको बाहिरी बनावट र भित्री सजावट आकर्षक बनाइएको छ । कारमा दुई सय २२ लिटरको बुट स्पेस छ । कारमा स्पिड सेन्सेटिभ पावर स्टेयरिङ छ । एयर कन्डिसनर, डिजिटल टेक्नोमिटर, ड्राइभ कम्प्युटर, पावर विन्डोलगायत यसका आकर्षक फिचर हुन् । यसको ग्राउन्ड क्लियरेन्स एक सय ८५ मिलिमिटर छ ।

महिन्द्रा थार डेब्रेक

भारतीय सवारी निर्माता महिन्द्रा एन्ड महिन्द्राको नेपालका लागि आधिकारिक विक्रेता अग्नी इनकर्पोरेटेडले थार जीपको नयाँ भर्सन थार डेब्रेक नाडा अटो शो मा सार्वजनिक गरेको छ ।

अटो शोलाई लक्षित गरी कम्पनीले नेपाली बजारमा लोकप्रिय थारको नयाँ मोडल ल्याएको हो । यो सवारी सहरी तथा अफ रोड बाटोमा समेत उपयोगी हुने र युनिक डिजाइन भएकाले लोकप्रिय रहेको कम्पनीको भनाइ छ ।

सुजुकी न्यू डिजायर

सुजुकी डिजायर कम्पनीले आकर्षक अवतारमा भित्र्याएको छ । अटो शो तथा दसैंलाई लक्षित गरेर नयाँ स्वरुपको डिजायर ल्याएको छ । नयाँ डिजायरमा सुजुकी बलेनोमा प्रयोग गरिएको हियरटेक च्यासिस प्लेटफर्मको प्रयोग गरिएको छ ।
यसको भित्री तथा बाहिरी डिजाइन आकर्षक छ । यसमा रहेको इन्फोटेनमेन्ट सिस्टममा दिइएको एन्ड्रोइड अटो सुविधा भारतमा निर्मित कारमै पहिलो भएको कम्पनीको दाबी छ । कारमा ड्युल एयर ब्याग, फ्रन्ड डिस्क ब्रेक र ब्याकमा ड्रम ब्रेक प्रयोग गरिएको छ ।

कारमा १२ सय सीसीको भीभीटी पेट्रोल इन्जिन जडान गरिएको छ । यसले एक लिटर पेट्रोलमा २२ किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ । ३७ लिटर पेट्रोल अटाउने इन्धन ट्यांकी रहेको यो कारको ग्राउन्ड क्लियरेन्स एक सय ६३ मिलिमिटर रहेको छ । यसमा पाँच स्पिड म्यानुअल गियर, टर्निङ रेडियस ४.८ मिलिमिटर छ ।

किया सोल इभी

दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले सोलको इलेक्ट्रोनिक भर्सन सोल इभी अटो शोमा सार्वजनिक गरिएको छ । सोल इभीका गाडी ८० वाटका हुन् ।
उक्त सवारी दुई मोडलका सनरुफ र नर्मल छन् जसको मूल्य क्रमशः ५८ र ५६ लाख रुपैयाँ रहेको छ । सोल इभी फुल चार्जमा २ सय १२ किलोमिटर कुद्न सक्छ । यी गाडी १५ एमपिएरमा चार्ज गर्न सकिन्छ भने ८÷१० घण्टामा फुल चार्ज हुनेछ । कम्पनीले आधा घण्टामै फुल चार्ज गर्न सक्ने स्टेसन ल्याउन लागेको बरालले जानकारी दिए ।

रेनो डस्टर

फ्रान्सेली कम्पनी रेनो गत वर्ष कम्प्याक्ट एसयूभी डस्टर र कम्प्याक्ट ह्याचब्याक क्विडसहित नेपाल भित्रिएको हो । नेपालमा डस्टर र क्विड दुवै मोडल लोकप्रिय बनेका छन् । कम्पनीले आसन्न नाडा अटो शोमा डस्टर पेट्रोल इन्जिनमा एएमटी र डिजेल इन्जिनमा आरएक्सएस भेरियन्ट सार्वजनिक गरिएको छ । नेपाली बजारमा ३५ लाखदेखि ५६ लाख रुपैयाँसम्मको रेन्जमा उपलब्ध डस्टर एसयूभी सेगमेन्टमा लोकप्रिय छ । नेपाल भित्रिएको एक वर्षमै रेनोका दुवै मोडलले नेपालीको विश्वास जित्न सफल भएका हुन् ।

स्कोडा सुपर्व फेसलिफ्ट

चेक रिपब्लिकको कार ब्रान्ड स्कोडा सुपर्व फेसलिफ्ट सार्वजनिक हुने भएको छ । सेडान सेगमेन्टमा नेपाली बजारमा रुचाइएको सुपर्वको अपडेटेड भर्सन नाडा अटो शो मा राखिएको छ । नयाँ स्कोडा सुपर्व फेसलिफ्ट फरक सुविधासहित अटो शो लक्षित गरी आउन लागेको हो ।


क्लिकमान्डु