इनरुवा नगरपालिकाका प्रमुख भन्छन्ः विपक्षी दलका जनप्रतिनिधिले काम गर्न दिएनन्
सुनसरी । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले विपक्षी दलका जनप्रतिनिधिले आफूलाई विकास निर्माणको काम गर्न नदिएको गुनासो गरेका छन् ।
सुनसरीको सदरमुकाम इनरुवामा बिहीबार पत्रकारसँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरेर प्रमुख मेहताले सो कुरा बताएका हुन् ।
प्रमुख मेहताले आफू जननिर्वाचित भएपनि आफूलाई सेरेमोनियल ९आलंकारिक० झैं विपक्षी दलका जननिर्वाचित प्रतिनिधिले राख्न खोजेको गुनासो गरे । उनले आफूलाई काम गर्न नदिइएकाले सोचेअनुरुप काम गर्न नसकेको र प्रगतिसमेत हासिल गर्न नसकेको बताए ।
प्रमुख मेहताले बहुमतको खेलमा विपक्षी दलका साथीहरुले बहुमतको बलमा आफूलाई ‘पेण्डुलम’ बनाउन खोजेको आरोप लगाए । जननिर्वाचित भएपश्चात् पार्टीभन्दा माथि उठेर कार्यसम्पादनलाई बढावा दिनुपर्नेमा विपक्षी पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कार्यशैलीले गर्दा समस्या उत्पन्न गराएको उनले दुखेसो पोखे ।
प्रमुख मेहताले कुनै पार्टीको नाम नभने पनि इनरुवा नगरपालिकामा नेकपा एमालेको बहुमत भएकाले सो पार्टीतर्फ इङ्गित गर्दै काम गर्न नदिएको बताए ।
इनरुवा नगरपालिकाको कार्यपालिका र नगरसभामा एमालेको बहुमत रहेको छ । प्रमुख मेहताले आफू सेरेमोनियल नभई जनताको भोटले निर्वाचित भएर आएको जननिर्वाचित प्रतिनिधि भएकाले अरूले चाहेजस्तो अनुगमन अधिकारीसरह भएर चुप लागेर नबस्ने बताए ।
प्रमुख मेहताले आफ्नो भिजन, स्रोत अनि दातृ निकायलाई ल्याउन सक्ने सामथ्र्य भएपनि आफ्नो सोचको कुनै कदर नभएको बताए । रासस