सरकारले तत्काल बिजुलीको मूल्य नबढाउने



काठमाडौं । सरकारले तत्काल उद्योगधन्दामा विद्युतको महशुल नबढाउने भएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले उद्योगधन्दामा तत्काल विद्युतको महशुल नबढ्ने बताए ।

नेपाल उद्योग परिसंघका केन्द्रिय पदाधिकारीसंगको भेटमा ऊर्जामन्त्री शाहीले विद्युत महशुल बढाउने निर्णय तत्काल कार्यान्वयन नहुने बताउँदै बिद्युत महशुल बृद्धि गर्ने निर्णय आफुले रोकेको बताए ।

उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागी विद्युत उत्पादनमा तिब्रता दिनुपर्ने मन्त्री शाहीको भनाई थियो ।

उद्योग परिसंघका पदाधिकारीहरुले औद्योगिक क्षेत्रमा विद्युतको महशुल बढाईए उद्योग धन्दा धरासायी हुने भएकाले यो निर्णय कार्यान्वयन नगर्न माग गरेका थिए ।

उद्योगहरुमा ६६ प्रतिशतसम्म बिद्युत महशुल बृद्धि गर्ने प्रस्ताव गरिएको छ ।

महशुल बृद्धि गरिए यो अहिलेसम्मकै अप्रिय निर्णय हुने उद्योगी व्यवसायीको भनाई छ । उनीहरुले औद्योगिक क्षेत्रमा डेडिकेटेड पावर फिडर आवश्यक भएको पनि मन्त्री शाहीलाई जानकारी गराएका थिए ।


पुष्प दुलाल