नाडा अटो शो मा ३ अर्बको सवारी बुकिङ हुने अनुमान



काठमाडौं । नाडा अटो शो २०१७ मा झन्डै ३ अर्ब रुपैयाँ बराबरको सवारी साधान बुकिङ हुने अनुमान गरिएको छ । मंगलबार बाट सुरु भएको अटो प्रदर्शनी आइतबारसम्म संचालन हुने छ ।

‘दुई दिनमा यतिनै बुकिङ भयो भन्ने यकिन नभए पनि अटो शो भरमा ३ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान छ,’ नाडा अटो शो २०१७ का संयोजक शम्भु प्रसाद दाहालले भने ।

आयोजकका अनुसार अघिल्लो वर्ष ७४ कम्पनीको सहभागिता थियो । यस वर्ष ९० कम्पनी सहभागी छन् । दाहालका अनुसार नेपालमा बिक्री वितरणका लागि अनुमति लिएका एजेन्सीहरुमध्ये ९९ प्रतिशत अटो व्यवसायीको सहभागिता छ । ‘प्रदर्शनीमा कम्पनीसँगै बुकिङ पनि धमाधम भएको छ,’ दाहालले भने ।

नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भृकुटीमन्डपमा जारी अटो शोको दुई दिनमा २२ हजारले अबलोकन गरिसकेको आयोजकले जानकारी दिएको छ ।

‘पाँच दिनमा ६० हजार भन्दा बढी अवलोकनकर्ता हुने अनुमान छ,’ संयोजक दाहालले भने । पहिलो दिनमा १० हजार लदोस्रो दिनमा १२ हजारले अवलोकन गरेको नाडाले जनाएको छ ।

प्रदर्शनीमा अधिकांश नयाँ उत्पादन राखिएका छन् । जसमा नयाँ मोडलसमेत प्रदर्शनीमा राखिएको आयोजक दाहालको भनाइ छ । ‘प्रदर्शनी प्रवेशका लागि सर्वसाधरणलाई २ सय र विद्यार्थीलाई १ सय ५० रुपैयाँ निर्धारण गरेका छौं ।

मेलामा बुकिङ गर्नेको संख्या बढे पनि मुख्य उद्देश्य ब्रान्डिङ रहेको आयोजकले जनाएको छ । ‘सवारी साधनसँगै स्पेयर पार्टसमा पनि उत्तिकै भीडभाड छ । हाम्रो मुख्य उद्देश्य ब्रान्डिङ भए पनि बुकिङ उल्लेख्य रुपमा बढेको छ,’ संयोजक दाहाललले भने ।

प्रदर्शनीमा सर्वसाधारणहरु दुईपांग्रे सवारीमा भीड बढेको आयोजकले जनाएको छ । दुईपांग्रे सस्तो र सबैको पहुँचका कारण मोटरसाइकल र स्कुटर अवलोकनकर्ताको भीड बढेको हो । यही अवसरमा कम्पनीहरुले आकर्षक छुटको योजना पनि सार्वजनिक गरेका छन् ।

छुट र अफरले सर्वसाधारण आकर्षित भएको आयोजकको दाबी छ । आयोजकका अनुसार प्रदर्शनीमा सहभागी सबै कम्पनीले केही न केही छुट र अफर दिएका छन् । ‘कम्पनीहरुले लाखौं रुपैयाँसम्म छुट दिएका छन् । बिमा र बैंकको सुविधा पनि एकै थलोमा छ,’ संयोजक दाहालले भने, ‘सबै प्रकारको सुविधा एकै थलोमा हुँदा आकर्षण बढेको छ ।’

व्यवसायीका १ सय ३० स्टल छन् । आयोजकका अनुसार प्रदर्शनीमा १६ ब्रान्डका चारपांग्रे, १९ ब्रान्डका दुईपांग्रे, ६ ब्रान्डका हेबी इक्विपमेन्ट र ८ ब्रान्डका लुब्रिकेन्टहरू सहभागी छन् । ४ ब्रान्डका टायर, ४ ब्रान्डका ब्याट्री र ग्यारेज इक्विपमेन्ट पनि राखिएको जनाइएको छ । १० वटा बैंक तथा वित्तीय संस्था, दुईवटा बिमा कम्पनीको पनि सहभागिता छ ।


क्लिकमान्डु