पूर्वाधार विकास बैंक दर्ता, बैंक र बीमा कम्पनी मुख्य प्रमोटर



काठमाडौं । पूर्वाधार विकास बैंक खोल्नको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दर्ता भएको छ ।

इमर्जिङ नेपालले नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक स्थापनाको लागि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष निवेदन दिएको हो ।

‘आज (बुधवार) इमर्जिङ नेपालको तर्फबाट नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक संचालन अनुमतिको लागि निवेदन दर्ता भयो, निवेदनमा आवश्यक प्रक्रिया पुर्याएपछि संचालनको अनुमति राष्ट्र बैंकले दिने छ,’ डेपुटी गभर्नर शिवाकोटीले क्लिकमाण्डूसँग भने ।

बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ ।

नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको नाममा ३९ जना संस्थापक सेयरधनी रहने गरेर राष्ट्र बैंकमा निवेदन दर्ता भएको हो ।

३९ जना संस्थापकले चुक्ता पुँजीको ६० प्रतिशतले हुन आउने १२ अर्ब रुपैयाँ लगानी गर्ने छन् भने बाँकी ४० प्रतिशत अर्थात ८ अर्ब सर्वसाधारणलाई सेयर बिक्री गरेर जुटाइने प्रस्ताव गरिएको डेपुटी गभर्नर शिवाकोटीले जानकारी दिए ।

प्रस्तावित नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको अध्यक्षमा पूर्व मुख्यसचिव डा बिमल कोइराला छन् ।

प्रमुख कार्यकारी अधिकृत राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा विनोद आत्रेय छन् ।

राष्ट्र बैंकले गत साता पूर्वाधार विकास बैंकको लाइसेन्स खुला गरेको गरेको थियो ।

पूर्वाधार विकास बैंकको न्यूनतम चुक्ता पुँजी २० अर्ब चाहिन्छ । पूर्वाधार विकास बैंक खोल्न चिनियाँ कम्पनीले पनि चासो देखाएको छ ।

बैंकको प्रमोटरहरुमा करिब ५ वटा वाणिज्य बैंक,८ वटा बीमा कम्पनी र केही इन्भेष्टमेन्ट कम्पनी तथा व्यक्ति छन् ।

बैंकमा ग्लोबल आइएमई,प्रभु,सिदार्थ,एनआईशी एशिया लगायतका बैंकको संस्थापक सेयर छ ।

यस्तै, सुर्या लाइफ,आइएमई लाइफ लगायतका बीमा कम्पनी छन् । हाथवे लगायतका केही इन्भेष्टमेन्ट कम्पनी लगानी रहेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।


क्लिकमान्डु