महिनाको ३५ हजार तिर्नुहोस् ३० लाख रुपैयाँको गाडी चढ्नुहोस



काठमाडौं । गाडी खरिद गर्दा बैंकको किस्ता कति पर्छ सबैले सोध्ने पहिलो प्रश्न त्यही हो ।

अन्त्यन्त न्यून व्यक्तिले मात्र पुरै पैसा तिरेर गाडी खरिद गर्छन् । अधिकाश व्यक्तिले गाडी खरिद गर्ने बैंकबाट ऋण लिएर हो ।

एकवर्षको अवधीमा बैंकबाट ऋण लिएर गाडी खरिद गर्दा लाग्ने ब्याज भने महंगो छ । एक वर्ष अगाडि नाडा अटो सोमा बैंकहरुले साढे ६ प्रतिशत ब्याजदरसम्ममा ९० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिएर गाडी खरिदको लागि ऋण दिएका थिए । बैकिङ क्षेत्रमा तरलता अभाव भएपछि त्यो ब्याजदर ११ प्रतिशतसम्म पुग्यो ।

अघिल्लो वर्षजस्तो यो वर्ष गाडी खरिदमा ९० प्रतिशतसम्म फाइनान्सिङ सुविधा पाइदैन । राष्ट्र बैंकले निजी सवारी साधन खरिदमा बैंकहरुले कुल मुल्यको ६५ प्रतिशतसम्म मात्र ऋण दिने व्यवस्था गरेको छ ।

गाडी खरिदमा मध्यमवर्गको रोजाई ३० लाखसम्म मुल्य पर्ने गाडी हो ।

अहिले नेपालमा ११ वटा गाडी कम्पनीका विभिन्न मोडलका ३० लाखसम्म पर्ने गाडीहरु पाइन्छ । नेपालमा पाइने यी गाडी अरुभन्दा सस्तापनि हुन् ।

३० लाख पर्ने गाडी खरिदको लागि अहिले बैंकले १९ लाख ५० हजार रुपैयाँसम्म ऋण दिन्छन् ।

बैंक अनुसार ऋण तिर्ने समय ५ देखि १० वर्षसम्म हुन्छ । धेरैजसो बैंकले गाडी खरिदको लागि ७ वर्षसम्म अवधीको लागि ऋण दिएका हुन्छन् ।

अहिले बैंक अनुसार गाडी खरिदको लागि ऋणको ब्याजदर ९ प्रतिशत देखि १३ प्रतिशतसम्म छ । आधार दर कम भएको बैंकबाट सस्तो ब्याजदरमा ऋण पाइन्छ । यस आधारमा औसतमा अहिले गाडी खरिदको लागि १२ प्रतिशत ब्याजदर छ ।

३० लाख रुपैयाँ मुल्य पर्ने गाडीको लागि १९ लाख ५० हजार रुपैयाँ ऋण पाइन्छ । यसको वार्षिक ब्याजदर १२ प्रतिशतको हिसाबले महिनामा ३४ हजार ४ सय २३ रुपैयाँ तिनुपर्छ ।

यदी ७ वर्षसम्म ब्याजदर स्थिर रह्यो भने १९ लाख ५० हजार रुपैयाँ ऋण तिर्नको लागि २८ लाख ९१ हजार ५ सय १८ रुपैयाँ तिनुपर्छ ।

ऋण लिएपछि ब्याजदर घट्दा तपाईको इएमआई घट्छ भने ब्याजदर बढ्यो भने इएमआई बढ्ने छ ।


क्लिकमान्डु