अटो मेलामा भेटियो साढे ३ करोडको गाडी, के के छन् विषेशता ?



काठमाडौं । नेपाली अटो क्षेत्रको सबैभन्दा ठूलो मेला ‘नाडा अटो शो’ मंगलबारदेखि राजधानीमा शुरु भएको छ । सवारी ब्यवसायी र उपभोक्ताका लागि यो एउटा उपयोगी र सहज ‘प्ल्याटर्फम’ हो ।

नेपालमा सामान्यतः १५ देखि ३० लाख रुपैंयाँसम्म पर्ने ‘ह्याचब्याक’ गाडी मध्यमबर्गहरु माझ लोकप्रिय छ । हुन्डाएई, किया, डाट्सुन, रेनल्ट आदि ब्राण्डहरुले यस्ता खाले गाडी नेपालमा बिक्री बितरण गर्दै आएका छन् ।

यो पालीको नाडा अटो शोमा भने फोर्डले ३ करोड ५० लाखको गाडी पनि प्रदर्शनीमा राखेको छ । वरिपरि प्लास्टिकको बार लगाएर प्रर्दशनीमा राखिएको यो गाडी सर्वसाधारणलाई अन्य गाडी जस्तो भित्र छिर्न वा चलाउन भने दिइएको छैन । यो गाडी हेर्नेहरुको भिड नै देखिन्छ ।

‘फोर्ड मस्टङ’को तेस्रो जेनेरेसनको यो गाडी सन् २०१३ को अन्त्यदेखि उत्पादन शुरु भएको हो । नाडा अटो शोमा प्रर्दशनीमा राखिएको यो गाडी भने भारतबाट ल्याइएको हो । तर, यो गाडी भारतमा बनेको भने होइन, अमेरिकामा बनेको हो ।

‘भि-८’ इन्जिन भएको यो गाडीमा ८ वटा सिलिण्डर रहेका छन् । र, इन्जिनको क्षमता ५ हजार सीसीको छ । टच स्क्रिन, लेदर सिट, एयर ब्याग आदि पनि यो गाडीका केही सामान्य बिशेषताहरु हुन् ।

यो गाडीको मुख्य बिशेषता भनेको ‘पर्फमेन्स’ भएको अटो शोमा खटिएका कर्मचारी बताउँछन् । तर, यो गाडी नेपालमा अहिले बेच्न भने ल्याइएको होइन । ‘फोर्डले आफ्नो ब्राण्डलाई इन्डोर्स गराउनका लागि मात्र यो गाडी नेपालमा ल्याएको हो,’ कर्मचारी भन्छन् ।

फोर्डले आफ्नो ब्राण्डको शक्ति प्रर्दशन गर्नका लागि आफ्नो प्रिमियम उत्पादन नेपाल ल्याएको उनी बताउँछन् ।


क्लिकमान्डु