निशान र पिउजो गाडीको डिलरसिप सारडा र गोल्छा समुहले पाए



सवारी व्यवसाय फस्टाउँदै गएसँगै चल्तीका ब्रान्डको आधिकारिक विक्रेता प्राप्त गर्न व्यावसायिक घरानाबीच डिलरसिप खोस्ने प्रतिस्पर्धा चलेको छ ।

केही समय अगाडी मात्र धेरै वर्ष देखि दुगड बदर्श एण्ड सन्सले बिक्री गर्दै आएको निशान गाडीको डिलरसिप पायोनियर मोटरले खोसेको थियो । सारडा समुहबाट आफ्नो डिलरसिप खोसिएको भन्दै दुगर्ड ब्रदर्श एन्ड सन्सले अदालतको ढोका ढकढकाउन पुगेको थियो ।

भलै जिल्ला अदालत काठमाडौंले दुगडको पक्षमा फैसला सुनाएपनि उच्च अदालत पाटनले भने पायोनियर मोटरकै पक्षमा फैसला सुनाएको छ ।
निसान मोटर्सको डिलरसिप पायोनियर मोटरलाई नै दिन उच्च अदालत पाटनले आदेश दिएको छ । आफ्नो डिलरसिप खोसिएपछि दुगर्ड ब्रदर्श एन्ड सन्सले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

दुगडले निसान कम्पनीको पायोनियर मोटरलाई विपक्षी बनाइ जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर ग¥यो । काठमाडौं जिल्ला अदालतले दुगडको पक्षमा फैसला सुनाएपछि सारडा समूह त्यसविरुद्ध उच्च अदालत पाटन पुगेको थियो । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै पायोनियर मोटरको पक्षमा फैसला सुनाएको हो ।

उच्च अदालत पाटनले अघिल्लो साता पायोनियरले नै निसान बिक्री गर्न पाउने आदेश दिएपछि अटो शोमा निसानको सहभागिता पायोनियर मोटरमार्फत नै हुने भएको छ ।
गत महिनादेखि निसान कम्पनीले दुगडसँग असन्तुष्टि जनाउँदै स्थानीय बिक्रेता फेरेको थियो । दुगड ब्रदर्स एन्ड सन्सबाट खोसिएको निसान मोटरको आधिकारिक बिक्रेतामा सारडा समूह अन्तर्गतको पायोनियर मोटर नियुक्त भएको थियो ।

दुगडले नाडा अटो शो २०१७ मा निसानको सहभागिता आफूभन्दा बाहेकका नाममा हुन नपाउने भन्दै नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालमा निवेदनसमेत दिएको थियो । त्यसपछि एसोसिएसन अलमलमा परेको थियो ।

तर गत आइतबार उच्च अदालत पाटनले पायोनियर मोटरको पक्षमा फैसला गरेको पत्र प्राप्त भएकाले एसोसिएसनको बुधबारको बैठकले सम्मानीत अदालतको आदेशलाई पालना गर्दै भन्दै पायोनियर मोटरमार्फतनै नाडा अटो शोमा निसानको सहभागिता गराउने निर्णय गरेको छ । जापानी उत्पादन निसानका उत्पादन नेपाली बजारमा विगत ३० वर्षदेखि दुगर्ड ब्रदर्श एन्ड सन्सले बिक्री गर्दै आएको थियो ।

यस्तै अर्को विवाद पिउजो गाडीको डिलरसिपमा पनि रहेको थियो । सांग्रिला मोटर्स र किशोर गेयरबीच पनि चलेको विवादमा पनि नयाँ डिलरसिप खोस्ने साग्रिलाकै पक्षमा उच्च अदालत पाटनले फैसला सुनाएको छ ।

पिउजो गाडी किशोर गेयरबाट सांग्रिला मोटरले लगेकोमा यो मुद्दामा पनि किशोर गेयरको पक्षमा जिल्ला अदालतको निर्णय उच्च अदालतले उल्ट्याएको हो । यस्तै, फ्रान्सेली गाडी पिउजोको आधिकारिक स्वामित्व गोल्छा अर्गनाइजेसन अन्तर्गतको सांग्रिला मोटर्सले लिएपछि पुरानो बिक्रेता किशोर गेयरले काठमाडौं जिल्ला अदालत मुद्दा दायर गरेको थियो । यसमा पनि निसानकै जस्तो आदेश आएको छ ।

जिल्ला अदालतले किशोर गेयरलाई नै आधिकारिक बिक्रेता कायम गर्न दिएको जिल्ला अदालतको आदेशमाथि पुनरावेदन गर्दै उच्च अदालत पाटनले सांग्रिला मोटरलाई नै पिउजोको बिक्रेताको आधिकारिकता दिएको छ ।

नाडामा पिउजोको प्रदर्शनी पनि सांग्रिला मोटरमार्फत नै हुने भएको छ । यसबारे दुबै कम्पनीले आधिकारिक प्रतिक्रिया भने दिन चाहेनन् । यता नाडाले भने उच्च अदालतको आदेशलाई पालना गर्दै निसानको पायोनियर मोटर्स र पिउजोको सांग्रिला मोटर्सले नै अटो शोमा सहभागिता गराउने निर्णय गरेको छ ।


क्लिकमान्डु