घरजग्गा कारोबारमा ‘गुड फर पेमेन्ट’ चेक अनिवार्य



काठमाडौं । घरजग्गा कारोबारमा ‘गुड फर पेमेन्ट’ चेक अनिवार्य भएको छ ।

सरकारले गत साउन १ देखि १० लाखभन्दा माथिको नगद कारोबारमा रोक लगाएको छ ।

अहिले बैंकहरुले १० लाख भन्दा बढीको चेकको भुक्तानी नगदमा गर्दैनन् । सरकारले १० लाखभन्दा बढीको जुनसुकै भुक्तानी चेक मार्फत गर्न भनेको छ ।

यस आधारमा घरजग्गा कारोबारमा पनि नगदमा कारोबार हुन छाडेको छ ।

अहिले मालपोत कार्यालयमा घरजग्गाकमो खरिदबिक्री चेक मार्फत हुने गरेको छ । कतिपय अवस्थामा खातामा पैसा नभएपनि चेक काट्ने भएकोले मालपोत कार्यालयले घरजग्गा कारोबारमा ‘गुड फर पेमेन्ट’ चेकलाई अनिवार्य गरेको हो ।

घरजग्गा खरिद गर्न चाहनेले बिक्रेतालाई ‘गुड फर पेमेन्ट’ लेखिएको चेक दिनुपर्छ । यो चेक बाउन्स हुँदैन ।

देशभर १० लाख भन्दा बढीको घरजग्गा कारोबारमा ‘गुड फर पेमेन्ट’ चेक अनिवार्य गरिएको हो ।

साउनमा उठ्यो १ अर्ब ४२ करोड राजस्व

साउन महिनामा घरजग्गा कारोबारबाट सरकारले १ अर्ब ४२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । साउन महिनामा १ अर्ब १० करोड राजस्व उठाउने लक्ष्य राखिएको थियो ।

आन्तरिक राजस्व विभागले घरजग्गा कारोबारमा पुँजीगत लाभकर छल्ने गरिएको पाइएपछि व्यक्तिगत तर्फ जग्गा बिक्रीगर्दा जग्गा विकास खर्च वापतको रकम देखाउन नपाइने व्यवस्था गरेको थियो ।

काठमाडौं उपत्यकामा ललितपुरले १८ करोड ३४ लाख उठाएको छ ।

यस्तै काठमाडौंमा भने डिल्लीबजारले १३ करोड २४ लाख,कलकीले १० करोड,साँखुले ३ करोड ७३ लाख,मनमैजुले ३ करोड ६३ लाख,टोखाले १ करोड ९१ लाख र भक्तपुरले ८ करोड ९५ लाख उठाएको छ ।


क्लिकमान्डु