यी महिला, जसलाई तीजको रमझमले तानेन



आज महिलाहरुको महान् चाड तीज । शिवालयहरुमा पुजा–आजा र नाचगानका लागि महिलाहरुको घुईंचो निख्रेको छैन । आफ्ना पति वा हुनेवाला पतिको दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै महिलाहरु आज पानी समेत नखाई ब्रत बसिरहेका छन् ।

अझ केही शहरीया महिलाहरुलाई त तीज लगेको महिना दिन भइसक्यो । दोहोरी, नाचगान, पार्टी प्यालेसमा भोजभतेर आदिमा उनीहरु झुम्न थालेका धेरै समय बितिसक्यो ।

शहरमा यसो घुम्दा तीज नगालेका महिलाहरु पनि धेरै देखिए ।

कालिकास्थानमा भ्याली क्याफे नामको सानो खाजाघर चलाउँदै आएकी संगीता प्रधानलाई तीजले छोएन । उनी एसाई धर्मावलम्बी रहिछन् । अनी जन्मे–हुर्केको दार्जिलिङमा रहेछ ।

‘म इसाइ धर्म मान्ने भएकाले तीज मनाउँदिन । तर, पहिला हिन्दु हुँदा पनि तीज मनाउँदैंनथें । दार्जिलिङमा तीज मनाउने चलनै थिएन । हामीलाई त ठूलो हुँदासम्म तीजको बारे. थाहै थिएन,’ उनले भनिन् ।

उनकै क्याफेमा काम गर्ने रेणु राईलाई पनि यो पालिको तीजले छोएन । उनले चाँही साथीभाई कोही नभेटेर यो पालीको तीज मनाउन नपाएकि रहिछन् ।

‘गाउँमा हुँदा त तीज सामान्य ढंगले मनाइन्थ्यो । खाने, नाच्ने यस्तै । तीजको बेला हाम्रो गाउँको हलेसी महादेवको मन्दिरमा घुईंचो नै लाग्छ,’ उनी भन्छिन् ।

कालिकास्थानमै सडकमा मकै पोल्ने ब्यवसाय गर्दै आएका अम्बिकादेवी बल र अर्चना कार्कीले सामान्य ढंगले तीज मनाए पनि रमझम तिर भने लागेनन् ।

बिहानै पुजापाठ गरेर ब्रत समेत बसिरहेका यी महिला आफ्नो ब्यवसाय सम्हाल्न सधैझैं १ बजे मकैको बोरा, गोल, फलामको कराहीलगायत लिएर आइपुगे ।


‘तीज नमनाउने धेरै महिला अनि पुरुषहरु पनि बाटोमा हिंडिरहेका हुन्छन् । कति त हाम्रो नियमित ग्राहक पनि छन् । उनीहरुलाई सधैं दिइरहेको सेवा पनि दिनैपर्यो । र, आफ्नो घर ब्यवहार पनि चलाउनै पर्यो । एक दिन काम नगरे महिनाभरिको घरब्यवहार असरल्ल पर्छ,’ उनीहरु भन्छन् ।


क्लिकमान्डु