देउवा र मोदीले स्वीच थिचेपछि नेपाल आउँछ ५० मेगावाट बिजुली



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले स्वीच थिचेपछि १३२ केभी क्षमताको कटैया–कुसाह ट्रान्समिशन लाइनबाट बिजुली नेपाल आउने भएको छ ।

दुबैले बिहीबार स्वीच थिचेर बिजुली आयातको सुरुवात गर्दैछन् । यो प्रसारणलाइनबाट नेपालले भारतसँग ५० मेगावाट बिजुली किन्नेछ । भारतीय सहयोगमा प्रसारणलाइन निर्माण भइसकेपनि अहिलेसम्म सञ्चालनमा आएको थिएन । देउवा र मोदीले संयुक्तरुपमा प्रसारणलाइनको उदघाटन गर्न लागेका हुन् ।

आन्तरिक उत्पादन बढ्न नसकेकाले सरकारलाई विजुली आयात गरेरै भएपनि लोडसेडिङ हुन नदिने तीब्र दबाब छ

५९ जनाको जम्बो टोलीसहित प्रधानमन्त्री शेरबहादुर देउवा बुधबारदेखि ५ दिनका लागि भारत भ्रमणमा छन् ।

आगामी हिउँदमा लोडसेडिङ हुन नदिने सरकारले भारतबाट ५ सय मेगावाट बिजुली किन्नसक्ने गरी प्रसारणलाइनको आफ्नो क्षमता बढाइसकेको छ । केही दिनअघि उर्जामन्त्रीले सार्वजानिक गरेको श्वेतपत्रमा पनि भारतसँग ५०० मेगावाट बिजुली किन्ने उल्लेख छ ।

गत वर्ष ३८५ मेगावाटसम्म बिजुली आयात भएको थियो । गत तिहारदेखि लोड म्यानेजमेन्ट गरेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकालगायतका केही शहरमा लोडसेडिङ हुन दिएका छैनन् ।

आन्तरिक उत्पादन बढ्न नसकेकाले सरकारलाई विजुली आयात गरेरै भएपनि लोडसेडिङ हुन नदिने तीब्र दबाब छ ।

गत आर्थिक वर्ष विद्युत प्राधिकरणले भारतबाट २ अर्ब १७ करोड ५० लाख ४० हजार युनिट बिजुली १४ अर्ब २० करोड रुपैयाँ किनेको थियो ।


पुष्प दुलाल