बाढीपहिरोबाट जनजीवन प्रभावित हुन नदिने व्यवस्था गराउन विकास समितिको निर्देशन



फाइल फोटो

काठमाडौं । व्यवस्थापिका–संसदको विकास समितिले यही असोज २ गते हुन गइरहेको प्रदेश नंं २ को निर्वाचन, नजिकै आउन लागेका दशैं, तिहार, छठ जस्ता महत्वपूर्ण चाडपर्वहरु र निकट भविष्यमा हुन गइरहेको संघ तथा प्रदेशको निर्वाचनलाई ध्यानमा राख्दै जनजीवनलाई सहज बनाउनको लागि सरोकारबाला निकायहरुलाई निर्देशन दिएको छ ।

विकास समितिले हालैको बाढी र डुवानका कारणले भएको भौतिक पूर्वाधारहरुको क्षति र निर्माण सम्बन्धी एकीकृत कार्ययोजनाको प्रतिवेदन समितिमा पेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यसैगरि भौतिक संरचनाहरुको क्षति भएको कारणबाट जनजीवनमा हुन गएको असहज अवस्थाको अन्त्य गर्न र प्राथमिकताका आधारमा भौतिक संरचनाहरुको तत्काल निर्माण गरी जनजीवनलाई सहज बनाउन पनि सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएको छ ।

विकास समितिले तत्काल वैकल्पिक व्यवस्थाको समेत अवलम्वन गरी सेवा सुचारु गर्न र यसका लागि आवश्यक बजेटको अभाव हुन नदिने सहितका विभिन्न निर्देशन सरोकारवाला निकायलाई दिएको छ ।


क्लिकमान्डु