संविधान संसोधन प्रस्ताव पारित भएन, ४८ मत नपुग्दा विधेयक फेल



काठमाडौ । सरकारले पेश गरेको संविधान संसोधन प्रस्ताव फेल भएको छ । संविधान संसोधनको लागि चाहिने दुई तिहाइ मत पुर्याउन असफल भएको हो ।

संसद्को सोमबार बसेको बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन गरिँदा संशोधनको पक्षमा आवश्यक दुई तिहाइ मत पुग्न नसकेपछि विधेयक पारित हुन सकेन ।

संशोधन विधेयक पारित हुनका लागि संसदमा तत्काल कायम सदस्य सङ्ख्या ५९२ को दुई तिहाइ ३९५ मत पक्षमा हुनुपर्नेमा ३४७ मात्र पक्षमा हुँदा संविधान संसोधन प्रस्ताव फेल भएको हो । संविधान संसोधन प्रस्ताव विधेयककाे विपक्षमा २०६ मत परेको थियो ।

मतदानमा ५५३ सांसदहरु सहभागी भएका थिए। करिब ४८ मत न्यून हुँदा विधेयक पारित हुन सकेन ।

राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न सरकारले सो संशोधन प्रस्ताव संसदमा पेश गरेको थियो ।

संशोधनको पक्षमा सत्तारूढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरमलगायतले मत दिएका थिए ।

प्रतिपक्ष दल नेकपा (एमाले) सहित राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले विपक्षमा मत दिएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र नेकपा (माले) मतदानमा सहभागी भएनन् ।

राजपाले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन पूर्व संविधान संशोधन हुनुपर्ने माग गर्दै आएको सन्दर्भमा सो प्रस्तावमा आज मतदान भएको हो ।

सो प्रस्ताव गत साउन ३२ गते सदनमा पेश गरिएको थियो । विधेयकमाथि ५० वटा संशोधन पेश भएका थिए ।

 


क्लिकमान्डु