एनसीसी बैंकमा देखियो सुधार पहिलो पटक अर्बपति क्लबमा



काठमाडौं । अघिल्लो वर्ष नउठेको १ अर्ब ३३ करोड रुपैयाँ ऋण उठाएपछि नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंक अर्बपति क्लबमा उक्लिएको छ ।

बैंकले प्रकाशित गरेको गत अर्थिक वर्ष २०७३/ ७४ को अपरिस्कृत विवरण अनुसार बैंकले १ अर्ब ३२ करोड नाफा गरेको छ । अघिल्लो वर्ष एनसीसीको नाफा ७० करोड रुपैयाँ थियो ।

बैंकले एक वर्षको अवधीमा नाफा ८८ प्रतिशतले बढाएको छ ।
बैंकले ब्याज आम्दानीबाट १ अर्ब ७२ करोड आम्दानी गरेको छ । कमिसनबाट २१ करोड र अन्य संचालन आम्दानी १४ करोड गरेको छ । यसरी बैंकले २ अर्ब १२ करोड रुपैयाँ संचालन आम्दानी गरेको छ ।

अघिल्लो वर्ष ४ वटा विकास बैंकलाई एनसीसीले गाभेको थियो । बैंकमा गाभिएको एउटा विकास बैंकको खराब कर्जाले बैंकलाई समस्या परेको थियो ।

वित्तीय विवरण अनुसार बैंकले यो वर्षपनि सम्भावित नोक्सानी व्यवस्थाको लागि ८२ करोड १२ लाख छुट्याएको छ । अघिल्लो वर्ष यस्तो नोक्सानीको लागि बैंकले २ अर्ब छुट्याएको थियो ।

८२ करोड रुपैयाँ नोक्सानी व्यवस्थाको लागि छुट्याउँदा बैंकको नाफा ४० करोड मात्र हुन्थ्यो । बैंकले अघिल्लो वर्ष उठाउन नसकेको २ अर्ब रुपैयाँमा यो वर्ष १ अर्ब ३३ करोड उठाउन सफल भयो । जसले गर्दा बैंक पहिलो पटक अर्बपति क्लबमा पुग्न सफल भयो ।

४ अर्ब ६७ करोड चुक्ता पुँजी भएको बैंकले असार मसान्तसम्ममा ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै कर्जा प्रवाह ४८ अर्ब रुपैयाँ गरेको छ ।

अघिल्लो वर्ष १ अर्ब ३१ करोड रुपैयाँ रिजर्बमा रहेको एनसीसीको यो वर्ष रिजर्बपनि २ अर्ब ५६ करोड पुगेको छ ।

एनसीसीले प्रकाशित गरेको वित्तीय विवरणले बैंकमा सुधार भएको देखाएको छ । अघिल्ला वर्षको ऋण उठाउने र नियमित आम्दानी बढाएको हुँदा बैंकले आगामी वर्षमा अझै सुधार हुने देखिएको छ ।

बैंकको प्रति सेयर आम्दानी २८ रुपैयाँ ३४ पैसा छ । यस्तै मुल्य आम्दानी १३ रुपैयाँ ५१ पैसा छ । बैंकको रिर्टन अन इक्युटी(आरओई) २३.१६ प्रतिशत रहेको छ ।


क्लिकमान्डु