बाढी पीडितका लागि एफएनसिसिआईको १ करोडको राहत




काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले बाढी पहिरो पीडितको राहत र उद्धारको लागि १ करोड रुपैयाँ बराबरको सहयोगको घोषणा गरेको छ ।

महासंघको तर्फबाट नगद १० लाख, नेपाल औषधि उत्पादक संघको तर्फबाट ५० लाख नगद वरावरको औषधि, नेपाली यूवा उद्यमी मञ्चबाट नगद तथा जिन्सी गरी १५ लाख, शंकर ग्रुपको तर्फबाट नगद तथा जिन्सी गरी ५ लाख, वागमती सफाई महाअभियानका तर्फबाट १० लाख नगद र अन्य संघ संस्थाबाट १० लाख रुपैया गरी पहिलो चरणमा महासंघका तर्फबाट उक्त सहयोगको घोषणा गरिएको हो ।

यसका लागि कार्य गर्न महासंघको सामाजिक सेवा फोरमका सभापति जयप्रसाद सिवाकोटीको संयोजकत्वमा १७ सदस्यीय बाढी पहिरो व्यवस्थापन कार्यदल २०७४ समेत गठन गरिएको छ ।

केहि दिनदेखि अविरलरूपमा परेको वर्षाका कारण मुलुकभर भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ गहिरो दुःख व्यक्त गर्दै विपत्तिमा परेका जनताको तत्काल सहयोग गर्न यस्तो सहयोगको घोषणा गरेको हो ।

बाढी प्रभावित जनताको सहयोगार्थ महासंघले बैंक अफ काठमाडौंमा एफएनसीसीआई रिलिफ खाता संचालनमा ल्याएको छ । विपत्तिमा परेका जनताहरूको सहयोगार्थ महासंघले संचालनमा ल्याएको बैंक अफ काठमाडूमा रहेको एफएनसिसीआई रिलिफ फण्ड खाता नम्बर ०१२५०००००६३५ मा आआफ्नो क्षेत्रबाट नगद सहयोग गर्न महासंघले आफ्ना सवै सदस्य उद्योग वाणिज्य संघहरू, वस्तुगत संघहरू, द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरू, एसोसिएट सदस्यहरु, उद्यमी व्यवसायीहरू, गैर आवासीय नेपाली संघ लगायत अन्य संघ संस्थाहरू समेत सवैमा हार्दिक अपिल पनि गरेको छ ।


क्लिकमान्डु