ललितपुरबासीलाई खुसीको खबरः सबै करमा १० प्रतिशत छुट दिने चिरिबाबुको अफर



काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्ना करदाताहरुलाई १० प्रतिशत छुट दिने अफर घोषणा गरेको छ, जसअनुसार चालू आर्थिक वर्षभरी कर तिर्ने सबै करदाताले महानगरले उपलब्ध गराएको १० प्रतिशत छुट प्राप्त गर्नसक्नेछन् ।

करदाताहरु कर तिर्न जागरुक होउन् भन्ने उद्देश्यले चालू आर्थिक वर्षमा सबै करदाताहरुलाई १० प्रतिशत छुट दिने निर्णय गरिएको महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए ।

‘हामीले करको दर बढाएका छैनौं, हामी करको दायरा बढाउने रणनीतिमा लागेका छौं,’ महर्जनले भने, ‘छुटको अफर दिएपछि पक्कैपनि करदाताहरुलाई कर तिर्नुपर्छ भन्ने भावना जागृत हुन्छ । र, दायरा बढ्छ भन्ने हाम्रो विश्वास छ ।’

करको दर बढाएर काठमाडौं महानगरले करदाताको तीब्र बिरोधको सामना गरिरहेका बेला ललितपुर महानगरले भने करमा लचिलो नीति र आकर्षक अफर ल्याएको हो ।

कर नीतिमा गरिएको व्यवस्थाअनुसार १ लाख रुपैयाँ कर तिर्नुपर्ने ललितपुर महानगरको करदाताले चालू आर्थिक वर्षमा ९० हजार रुपैयाँमात्रै कर तिर्नुपर्ने भएको छ ।

महानगरले चालू आर्थिक वर्षमा १ अर्ब ४० करोड रुपैयाँ कर उठाउने लक्ष्य राखेको छ । गत वर्ष महानगरले ३८ करोड रुपैयाँ कर उठाएको थियो ।

महानगरभित्र साना तथा ठूला गरी करिब डेढ लाख व्यापार व्यवसाय सञ्चालनमा छन् । हाल १०/१२ हजार मात्रै करको दायरामा छन् । यो संख्यालाई यसै आर्थिक वर्ष बढाएर ८० हजार पुर्याउने लक्ष्य राखिएको छ ।

‘यसरी करको दायरा बढाएपछि महानगरको स्रोत गुणात्मक रुपमा बढ्छ भने जनतालाई करको थप भार पनि पर्दैन,’ महर्जनले भने, ‘जनताको सेवा गर्न जनताबाट निर्वाचिन भएर आएका हामी जनप्रतिनिधिले जनतालाई मार पर्नेगरी कर बढाउनु हुँदैन भन्ने हाम्रो बुझाई रह्यो ।’

महानगरले हामीले करका दरहरु पनि यथावत राखेको छ । केही वडाहरुमा देखिएको असमानता हटाउन लाग्दै आएको करिब ५० प्रतिशत कर घटाइसकेको छ ।

करको दर बढाएर काठमाडौं महानगरले करदाताको तीब्र बिरोधको सामना गरिरहेका बेला ललितपुर महानगरले भने करमा लचिलो नीति र आकर्षक अफर ल्याएको हो ।


पुष्प दुलाल