सिलप्याक रक्सी नक्कली नहुने गरी सरकारले गरिदियो सुरक्षा




काठमाडौं । तपाइले पिउने गरेको रक्सी नक्कली वा कम गुणस्तरको पर्ला कि भन्ने कत्तिको डर लाग्छ ? लाग्ने गरेको छ भने अबदेखि केही ढुक्क हुने दिन आएको छ ।

सरकारले बियर, वाइन र साईडरबाहेकका सबै प्रकारका रक्सीको बोतलमा पारदर्शी प्लाष्टिकको खोल (श्रिंक क्याप) अनिवार्य गर्न लागेको छ । अर्थमन्त्रालयले अन्तःशुल्क नियमावली २०५९ मा थप ब्यवस्था गर्दै आगामी माघ १ गतेदेखि बियर, वाइन र साईडरबाहेकका सबै प्रकारका मदिरामा श्रिंक क्याप अनिवार्य गर्न लागेको हो ।

सो नियमावलीको नियम २९ मा उपनियम ‘ग’ थप गर्दै यस्तो ब्यवस्था गरिएको हो ।

‘मदिरा उत्पादन गर्ने प्रतिस्ठानले आफूले उत्पादन गरेको मदिरा (बियर, वाइन र साईडर बाहेक) को बोतलमा अन्तःशुल्क टिकटको सुरक्षाको लागि संबत २०७४ साल माघ १ गतेदेखि पारदर्शी प्लास्टिकको खोल (श्रिंक क्याप) प्रयोग गर्नुपर्नेछ,’ भन्ने ब्यवस्था थप गरिएको छ ।

नयाँ ब्यवस्थाले नक्कली रक्सीको चिन्ता कम गर्ने पेट प्रडक्ट एण्ड क्लोजरर् म्यानुफ्याक्चर्स एसोसिएसनका अध्यक्ष भरतराज आचार्य बताउँछन् ।

‘विशेष गरेर यो ब्यवस्था नक्कली रक्सीको प्रयोग र उत्पादनलाई निरुत्साहित गर्नको लागि ल्याइएको होला, यसले अन्तःशुल्क स्टीकरको सुरक्षा पनि गर्ने भएकोले उत्पादक, उपभोक्ता र सरकार सबैपक्षलाई फाइदा हुन्छ,’ अध्यक्ष आचार्यले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु