एफएनसीसीआइको जिल्ला नगर उपाध्यक्षमा भदौ १९ गते चुनाव हुने, को को छन् प्रतिस्पर्धी ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रिक्त रहेको जिल्ला तथा नगर उपाध्यक्षको लागि भदौ १९ गते निर्वाचन हुने भएको छ ।

महासंघको कार्यकारिणी समितिको बैठकले भदौ १९ गते निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचनको लागि भदौ १२ गते उम्मेद्वारी दर्ताको समय दिइएको छ ।

गत चैतमा भएको महासंघको निर्वाचनबाट जिल्ला तथा नगरको उपाध्यक्ष पदमा प्रमोद श्रेष्ठ निर्वाचित भएका थिए ।

श्रेष्ठ स्थानीय तह निर्वाचनमा म्यादी जिल्लाको बेनी नगरपालिकामा मेयर पदको उम्मेद्वार बने । मेयरको निर्वाचनपनि उनले हारे ।

मेयर पदमा उम्मेद्वार बनेपछि महासंघको विधान अनुसार श्रेष्ठको पद स्वत निलम्बन भएको थियो । महासंघको विधानमा पदाधिकारीलाई कुनैपनि राजनीतिक दलको सदस्य बन्न र राजनीति दलबाट निर्वाचनमा भाग लिन रोक लगाइएको छ ।

महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विधान अनुसार प्रमोद श्रेष्ठ अयोग्य भएको र भविष्यमा पनि महासंघको निर्वाचनको लड्न नपाउने बताए ।

‘महासंघको विधान अनुसार उहाँको पद स्वत निलम्बन भएको हो,’ गोल्छाले क्लिकमाण्डूसँग भने, ‘उहाँ आगामी दिनमा महासंघको कुनैपनि निर्वाचन लड्न पाउनु हुन्न ।’

श्रेष्ठले महासंघबाट राजिनामा नगरी मेयरको निर्वाचन लड्न गएका थिए । किशोर प्रधानम समुहबाट पदाधिकारी जित्ने श्रेष्ठ एकमात्र उम्मेद्वार थिए । उनले गोल्छा समुहबाट जिल्ला नगरमा उठेका दिनेश श्रेष्ठलाई हराएका थिए ।

भदौ १९ मा निर्वाचन गर्ने र भदौ १२ मा उम्मेद्वारी दर्ताको समय तोकिएपछि महासंघमा जिल्ला नगरको उपाध्यक्षको लागि विभिन्न नाम चर्चामा भएको छ ।

शेखर गोल्छासँग बरिष्ठ उपाध्यक्ष हारेका किशोर प्रधानपनि जिल्ला नगर उपाध्यक्ष बन्न राजी भएका छन् ।

‘आफु महासंघमा २ दशक बिताएको र साथीभाईले आग्रह गरेमा त्यसलाई मैले स्वीकार गर्छु,’ प्रधानले क्लिकमाण्डूसँग भने ।

प्रधान बाहेक जिल्ला नगरमा उपाध्यक्ष हारेका दिनेश श्रेष्ठ र प्रदेश नम्बर ५ का अध्यक्ष गुणनिधी तिवारी पनि दावेदार रहेका छन् । यस्तै सुर्खेतका निरक केसी पनि जिल्ला नगरको उपाध्यक्षको लागि दावेदार देखिएका छन् । उनी ६ वर्ष अगाडि हालकी अध्यक्ष भवानी राणासँग जिल्ला नगरमा उपाध्यक्ष हारेका थिए ।

यस्तै रुपन्देहीका कृष्णप्रसाद शर्मापनि उपाध्यक्ष पदको दावेदार देखिएका छन् । उनी महासंघका पूर्व अध्यक्ष प्रदिपजंग पाण्डे निकट मानिन्छन् ।

यस्तै महासंघको अघिल्लो निर्वाचनमा जिल्ला नगरको उपाध्यक्षमा किशोर प्रधानसँग पराजित भएका दोलखाका डिबी बस्नेतपनि उपाध्यक्ष बन्ने तयारीमा छन् ।

महासंघको विधानमा जिल्ला नगरको उपाध्यक्ष बन्नको लागि जिल्ला तथा नगर उद्योग वाणिज्य संघको सिफारिस चाहिन्छ । यसको मतदाता पनि जिल्ला नगर उद्योग वाणिज्य संघ हुने प्रावधान छ । 

 


क्लिकमान्डु