चितवनमा गतवर्ष १ हजार २ सय २४ उद्योग दर्ता



चितवन । जिल्लामा गत आर्थिक वर्ष २०७३/७४ मा एक हजार १२४ वटा साना उद्योग दर्ता भएका छन् ।

भरतपुर महानगरपालिका उद्योग विकास शाखा कार्यालयका अनुसार १ अर्ब ५२ करोड २९ लाख २२ हजार कुल पूँजी हुने गरी ती उद्योग स्थापना भएका हुन् ।

ती उद्योगको स्थिर पूँजी ९० करोड ३९ लाख ५९ हजार र चालु पूँजी ६१ करोड ८९ लाख ६२ हजार रहेको छ । घरेलु तथा साना उद्योग कार्यालय हाल भरतपुर महानगरपालिका उद्योग विकास शाखामा परिणत भएको हो । कार्यालयले यसअघि जिल्लाभरिकै उद्योगको दर्ता तथा नवीकरण गर्दै आएकामा अब स्थानीय तहअनुसार छुट्टाछुट्टै रुपमा हेर्नेछ ।

कार्यालयका सूचना अधिकारी रमेशकुमार कर्माचार्यका अनुसार गत आवमा लघु उद्योग २५८, घरेलु उद्योग १९ र साना उद्योग ८४७ वटा दर्ता भएका थिए । निजी एक हजार आठ, साझेदारी ५१, प्रालि ६५, उत्पादनमूलक २९६, कृषिमूलक ३१२, निर्माणमूलक एक, पर्यटनमूलक २०१ र सेवामूलक ३१७ वटा उद्योग दर्ता भएका थिए । जिल्लामा हाल दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता चार अर्ब ६८ करोड ७९ लाख पाँच हजार रहेको कार्यालयले जनाएको छ । ती उद्योगमा तीन हजार ९७९ जनाले रोजगार पाएका छन् ।

गत आवमा २९० महिला उद्यमी र एक हजार ८५ जना पुरुष उद्यमी रहेका थिए । आव २०७२÷७३ मा ८३८ वटा उद्योग दर्ता भएका थिए । तीमध्ये निजी ७६४, साझेदारी ४४, प्रालि ३० वटा रहेका थिए । सो आवमा दर्ता भएका उद्योगको कुल पूँजी रु ९८ करोड ४२ लाख ६७ हजार रहेको थियो । चालु पुँजी ४१ करोड ३० लाख १९ हजार र स्थिर पूँजी ५७ करोड १२ लाख ४७ हजार रहेको थियो । सो आवमा महिला उद्यमी १७९ र पुरुष उद्योमी ७६२ रहेका थिए भने तीन हजार २४ जनाले रोजगार पाएका थिए । कार्यालयका अनुसार सरकारले नियमित अनुगमन गर्ने र दर्ता नभएका उद्योगलाई बैंकलले ऋण नदिने भएकाले दर्ता हुनेको सङ्ख्यामा वृद्धि भएको हो । रासस


क्लिकमान्डु