बैंकिङमा खारिएका शम्भुनाथ गौतम सिद्धार्थ बैंकको सीइओमा नियुक्त



काठमाडौं । सिद्धार्थ बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा शम्भुनाथ गौतमलाई नियुक्त गरेको छ । गत साउन २५ गते बसको बैंक सञ्चालक समितिको बैठकले गौतमलाई ४ वर्षे कार्यकालको लागि सीइओ नियुक्ति गरेको हो ।

गौतमले आज (बिहीबार) देखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।

यसअघि उनी सिद्धार्थ बैंककै डेपुटी सीइओ थिए । सिद्धार्थ बैंक स्थापना हुँदादेखि नै उनी बैंकसँग आवद्ध छन् । बैंक १५ वर्षअघि स्थापना भएको हो ।

गौतमसँग ३० वर्ष बैंकिङ गरेको अनुभव छ । नविल बैंकदेखि उनले आफ्नो बैंकिङ करियर सुरु गरेका थिए ।

त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापनमा मास्टर्स गरेका ५४ वर्षिय गौतमले आगामी ४ वर्ष बैंकको सीइओ भएर काम गर्नेछन् । उनीसँग कोर बैंकिङको राम्रो नलेज रहेको बैंकका अधिकारीहरु बताउँछन् ।

स्थापना कालदेखि नै सीइओ रहेका सुरेन्द्र भण्डारीले कार्यकाल बाँकी रहँदै पदबाट राजिनामा दिएपछि सिद्धार्थ बैंकमा एक महिनादेखि सीइओ रिक्त थियो । भण्डारी कुमारी बैंकमा सीइओ भएर काम गर्न थालिसकेका छन् ।

यसबीचमा सिद्धार्थका सञ्चालकहरुले बाहिरबाट सीइओ ल्याउनलाई केही बैंकरहरुसँग कुरा गरेका थिए । तर, उनीहरुसँगको कुराकानी ठोस निष्कर्शमा पुग्न नसकेपछि डेपुटी सीइओ गौतमलाई सीइओ नियुक्ति गरिएको हो ।


पुष्प दुलाल