क्रस दी बोर्डरमा गभर्नरसँग उद्यमीको अन्तरक्रिया



पोखरा । उद्यमशीलता जगाउने उद्देश्य राखेर पोखरामा रहेको होटल स्नोल्यान्डले सुरु गरेको ‘उद्यमशील कार्यक्रम’ को आउँदो शृंखलामा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाललले उद्यमीहरुसँग अन्तरक्रिया गर्ने भएका छन् ।

यहि २७ गते शुक्रबार भोली हुने कार्यक्रम उद्यमशील बनौं भन्ने मर्मसहित ‘क्रस दी बोर्डर’ नामको संवादमूलक कार्यक्रम लेकसाइडको बाराहीचोकस्थित होटल स्नोल्यान्डकै हलमा हुने भएको हो।

कार्यक्रमको सो शृंखलामा गभर्नर नेपाललाई निम्त्याएको होटल सञ्चालक गणेशबहादुर थापाले बताए । ‘नेपालको वर्तमान आर्थिक अवस्था र मौद्रिक नीति विषयमा गभर्नरसँग अन्तक्रिया हुनेछ,’ थापाले भने ।

निजी क्षेत्रमैत्री भनेर चिनिने डा. नेपाल यसअघि पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्ष थिए । डा. नेपालसँग परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयको सल्लाहकार भएर काम गरेको अनुभव छ ।

त्यसैगरी, निजी क्षेत्रका तीनवटै छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघमा सल्लाहकार एवं परामर्शदाताका रुपमा काम गरेको अनुभव उनीसँग छ । उनले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा २८ वर्ष अध्यापन गरेका छन् ।

क्रस दी बोर्डर कार्यक्रमबाट युवा, विद्यार्थी, व्यवसायी र नवउद्यमीहरु लाभान्वित हुने आशा गरिएको आयोजक होटल सञ्चालक थापाले बताए । प्रवेश निशुल्क रहने कार्यक्रममा सहभागिताका लागि होटलले आग्रह गरेको छ ।

 


क्लिकमान्डु