काठमाडौं महानगरको स्किमः असोज मसान्तसम्म घरजग्गा कर तिर्दा १० प्रतिशत छुट



काठमाडौं । काठमाडौं महानगरले घरजग्गा कर उठाउनका लागि स्किम ल्याएको छ । महानगरले चालु आर्थिक बर्षको असोजमसान्तसम्म कर दाखिल गर्ने करदातालाई १० प्रतिशतको छुट दिने भएको हो ।

महानगरका प्रवक्त ज्ञानेन्द्र कार्कीले चालु आर्थिक बर्षको असोजमसान्तसम्म कर दाखिल गर्ने करदातालाई १० प्रतिशत छुट दिने जानकारी दिए ।

‘करदातालाई समयमा कर तिर्ने वातावरण सिर्जना गर्नका लागि १० प्रतिशत छुटको स्किम राखिएको हो, असोजमसान्तसम्म कर तिर्दा करदाताले छुटका साथै महानगरसँग विकासका लागि पैसापनि उपलब्ध हुन्छ,’ कार्कीले क्लिमाण्डूसँग भने ।

१० प्रतिशत छुटको स्किमले ठूला करदाता लाभान्वित हुने भएकाले करको दायरा बढ्ने उनको विश्वास छ ।

महानगरले असार ३१ गते ल्याएको आर्थिक ऐनमा घरजग्गा करमा प्राविधिक समस्या आएको थियो । सो प्राविधिक समस्या हल गर्न नसकेपछि महानगरले आर्थिक बर्ष २०७३/७४ अनुसार कर उठाउने निर्णय गरेको छ ।

महानगरले अघिल्लो आर्थिक बर्षमा घरजग्गा कर बापत ५८ करोड रुपैयाँ उठाएको थियो । चालु आर्थिक बर्षमा महानगरले अघिल्लो बर्षको तुलनामा ३ गुणा धेरै १ अर्ब ५० करोड उठाउने लक्ष्य लिएको छ ।


पुष्प दुलाल