बिनोद चौधरीलाई अर्बपति बनाउने नबिल बैंक नै हो त ? नबिलमा कति छ उनको सम्पत्ति ?




काठमाडौं । बिनोद चौधरी फोब्र्सको सूचीमा सूचिकृत एक मात्र नेपाली डलर अर्बपति हुन् । हालै फोब्र्सले सार्वजनिक गरेको विश्वका धनीहरुको सूचीअनुसार चौधरी विश्वका धनीहरुको सूचीमा १ हजार ५ सय ६७ औैं स्थानमा परेका छन् ।

फोब्र्सका अनुसार उनीसँग १ अर्ब ३४ करोड अमेरिकी डलरको (करीब १ खर्ब ३४ अर्ब रुपैंयाँ) सम्पत्ति छ ।

चौधरीको सम्पत्ति गत बर्षको १ अर्ब १० करोड डलरबाट बढेर यो बर्ष १ अर्ब ३४ करोड डलर पुगेको हो ।

उनको सिजी ग्रुपले खाद्यान्न, इलेक्ट्रोनिक्स, बियर र होटलहरुको ब्यवसाय गर्छ । उनको सिजी फुड्सले लोकप्रिय चाउचाउ ब्राण्ड वाइवाइको उत्पादन गर्छ भने वाइवाइको प्लान्ट भारत, सर्विया, साउदी अरेबिया र बंगलादेशमा पनि छ ।

सिजी ग्रुपले भारतको लक्जरी चेन होटल ताज होटलको सहकार्यमा विश्वभर २९ वटा होटलहरुको अधिकार लिएको छ भने ७० वटाको सम्पत्ति व्यवस्थापन गरिरहेको छ ।

तर, यी सबै कम्पनी र ब्यवसायहरुका बावजुद उनको सम्पत्ति बृद्धि हुनुमा उनको नबिल बैंकमा रहेको सेयरको मुख्य भुमिका रहेको फोब्र्सले जनाएको छ । उनको ब्यक्तिगत बिवरणमा उनको सम्पत्ति बृद्धि हुनुमा प्रमुख योगदान नबिल बैंकमा रहेको उनको सेयर स्वामित्वको रहेको उल्लेख गरिएको छ ।

नबिल बैंकमा कति छ चौधरीको सेयर स्वामित्व ?

नबिल बैंकको बार्षिक वित्तीय बिवरणका अनुसार नबिल बैंकमा ०.५ प्रतिशत भन्दा बढि सेयर स्वामित्व भएका ९ जना सेयरधनीहरु छन् । त्यसमा निर्वाण चौधरी, बरुण चौधरी, राहुल चौधरी र सारिका चौधरीको क्रमशः ०.८९, ०.८५, ०.५९ र ०.७८ प्रतिशत सेयर स्वामित्व छ । निर्वाण, बरुण र राहुल चौधरीका तीन छोराहरु हुन् भने सारिका उनकी पत्नी हुन् । उनीहरु चार जनाको गरेर चौधरीे परिवारको कुल सेयर स्वामित्व ३.११ प्रतिशत छ ।

बिनोद चौधरी स्वयंको भने सेयरधनीहरुको सूचीमा नाम उल्लेख छैन । तर, सेयरधनीहरुको सूचीमा सबैभन्दा बढि सेयर स्वामित्व एनबी इन्टरनेशनल नामक बंगलादेशी कम्पनीको छ । कम्पनीको नबिल बैंकमा ५० प्रतिशत सेयर स्वामित्व छ ।

चौधरीले आफ्नो आत्मकथामा उल्लेख गरे अनुसार एनबी इन्टरनेशनलको नाममा रहेको नबिल बैंकको सेयर उनकै हो । उनले अरब बैंकको सेयर आफ्ना नाउँमा किन्न लाग्दा कानुनी झन्झट आइलागेका कारण नेशनल बैंक बंगलादेशका तर्फबाट किनेका थिए ।

नेशनल बैंक बंगलादेशमा पनि अरब बैंकको बिषयलाई लिएर मतभेद भएपछि एनबी इन्टरनेशनल जन्मियो । जसले अरब बैंकमा ५० प्रतिशत हिस्सेदारी लियो । र, अरब बैंक बिधिवत रुपमा नबिल बैंकमा परिणत भयो ।

एनबी इन्टरनेशनलको ५० प्रतिशत सेयरलाई पनि चौधरीकै सेयरको रुपमा गणना गर्दा र उनको परिवारको स्वामित्वमा रहेको ३.११ प्रतिशत सेयरलाई जोड्दा बिनोद चौधरीको नबिल बैंकमा ५३.११ प्रतिशत सेयर स्वामित्व हुन आउँछ ।

कति छ चौधरीको नबिल बैंकको सेयरको बजार मुल्य ?

फोब्र्सले कुन बिधि र प्रक्रियाबाट चौधरीको सम्पत्तिको मुल्याङ्कन ग¥यो, यहाँ चर्चा गरिने छैन । फोब्र्सले चौधरीको नबिल बैंकमा रहेको सेयरको मुल्याङ्कन कसरी ग¥यो र फोब्र्सको बिवरणमा उनको कुल सम्पत्तिमा नबिल बैंकको हिस्सा कति भन्ने कुरा हामीलाई थाहा हुने कुरा पनि होइन ।

तर, नबिल बैंक नेपाली सेयर बजारमा सूचीकृत कम्पनीको हो । र, हामीलाई यो बैंकमा बिनोद चौधरीको कति सेयर स्वामित्व छ भन्ने कुराको पनि जानकारी छ । त्यसैले यसैका आधारमा चौधरीको नबिल बैंकमा रहेको सेयर स्वामित्वको बजार मुल्य सामान्य ढंगले निकाल्ने प्रयास गरिएको छ ।

नेपाल स्टक एक्चेञ्जमा नबिल बैंकको ६ करोड १८ लाख ३५ हजार ४ सय ४ कित्ता सेयर सूचीकृत छ । यसको ५३.११ प्रतिशत अर्थात, ३ करोड २८ लाख ४० हजार ७ सय ८३ कित्ता सेयर चौधरी र उनको परिवारको स्वामित्वमा छ ।

नबिल बैंकको प्रमोटर सेयरको अन्तिम बजार मुल्य १२ सय ६० रुपैंयाँ छ । यसको मतलब बिनोद चौधरीको नबिल बैंकमा रहेको सम्पत्तिको अन्तिम बजार मुल्य ४१ अर्ब ३ करोड रुपैंयाँ छ ।

यो भनेको फोब्र्सले उल्लेख गरेको चौधरीको कुल सम्पत्ति १ खर्ब ३४ अर्ब रुपैंयाँको झण्डै ३१ प्रतिशत हो । यद्यपि फोब्र्सले उनको सम्पत्ति मुल्याङ्कनमा प्रयोग गरेको बिधि र प्रक्रिया योभन्दा फरक हुन सक्छ ।


क्लिकमान्डु